देवचुली, ३१ भदौ ।
देवचुली नगरपालिकाले सोमबार एक विज्ञप्ति जारी गर्दै प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्रीवितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय गरेको जनाएको छ ।
देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माद्वारा जारी विज्ञप्तिमा नेपालीहरूको महान चाड बडादशैँ, तिहार, छठ जस्ता पर्वहरूमा प्लाष्टिकजन्य फूलगुच्छा, मालालगायतका सामग्रीहरुको प्रयोग, आयात, बिक्रीवितरण र भण्डारण नगर्न नगराउन अनुरोध गरिएको छ । साथै प्लाष्टिकजन्य मालाले वातावरणीय प्रदूषण हुनका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने भएकोले यस देवचुली नगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा सयपत्री, गोदावरी, मखमलीलगायतका फूलहरू उत्पादन भइरहेकोले प्राकृतिक रुपमा उत्पादन भएका उक्त फूलहरू एवं सोबाट बनेका मालाहरू मात्र प्रयोग गर्न समेत नगरवासीलाई अनुरोध गरिएको छ ।
विज्ञप्तिमा बजार अनुगमनका क्रममा प्लाष्टिकजन्य फूल तथा मालाहरु प्रयोग एवम् बिक्रीवितरण गरेको पाईएमा उक्त सामानहरु नगरपालिकाले जफत गरी कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेसमेत जनाईएको छ ।