मकवानपुर, ३१ भदौ ।
कर्मचारी सञ्चय कोष ६३ वर्षमा प्रवेश गरेको छ । ६३ औं वार्षिकोत्सवमा काेषकाे केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
काेषकाे हेटौंडा शाखा कार्यालयले सोमबार विहान प्रभातफेरी कार्यक्रम गरेकाे छ । हेटौंडा ४ स्थित कार्यालय परिसरबाट सुरु भएकाे प्रभातफेरी हुप्राचौर, पारिजातपथ, स्कुलरोड हुँदै कोषको कार्यालयमा गएर समापन गरिएको थियो । कार्यालय प्रमुखलगायतका कर्मचारीहरु नेपाल प्रहरी सहितले प्रभातफेरीमा सहभागिता जनाएका थिए ।
प्रभातफेरीपश्चात शाखा कार्यालय हेटौंडाले वार्षिकोत्सव कार्यक्रम गरेका छ । `सुरक्षित भविष्यका लागि निवृत तथा सञ्चय कोष´ भन्ने नाराका साथ मनाइएको वार्षिकोत्सव कार्यक्रममा विशेष अतिथि मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले अधिकतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्न कोषले अधिकतम लगानी गर्ने सञ्चय गर्ने सञ्चयकर्तालाई अवकाश पछि पाउने रकमको सुनिश्चिततामा ध्यान दिनपर्ने बताए ।
आर्थिक मामिला मन्त्रालय सचिव कृष्णप्रसाद मैनालीले कोषले निवृत्तभरणकोष व्यवस्थापनलाई अझै प्रभावकारी बनाउँदै एकरुपता हुने गरी तीनै तहको सरकारमा लाग्नुपर्ने बताए ।
कोष हेटौंडा शाखा प्रमुख डाक्टर दिलिपराज पौडेलले कार्यक्रममा वि.सं १९९१ सालमा सैनिक द्रव्यकोषको नामबाट स्थापित यस संस्था अर्थ मन्त्रालयको सञ्चय कोष महाशाखा हुँदै २०१९ सालमा कर्मचारी सञ्चय कोष ऐनद्वारा छुट्टै एक स्वशासित संगठित संस्थाको रुपमा रुपान्तरित हुँदै आएको जानकारी दिए ।
नेपाल सरकार, संगठित संस्थाका कर्मचारीहरू, अन्य कर्मचारीहरू र स्वरोजगारमा संलग्न व्यक्तिहरूको निमित्त सञ्चय कोष, निवृत्तिभरण कोष, स्वास्थ्य वीमा कोषलगायत अन्य सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने कोषको उदेश्य रहेको पौडेलले बताए ।
कोषले निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल, विशेष सेवातर्फका राष्ट्रसेवक कर्मचारीहरुका साथै शिक्षक, सार्वजनिक संस्थान तथा नीजि प्रतिष्ठानका कर्मचारीहरु समेत गरी ५ लाख ७५ हजार भन्दा बढी नियमित सञ्चयकर्ताको करिव रु. ५ खर्व १८ अर्व ४८ करोड बराबरको सञ्चय कोष रकम व्यवस्थापन गर्ने जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिरहेको उनले जानकारी दिए ।
यसै क्रममा निवृत्तिभरण कोष ऐन, २०७५ बमोजिम २०७६ श्रावण १ गते पश्चात नियुक्त संघीय निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल र विशेष सेवाका राष्ट्रसेवक कर्मचारीहरुको योगदानमा आधारित निवृत्तिभरण कोषको सञ्चालनको लागि नेपाल सरकारले कर्मचारी सञ्चय कोषलाई दिएको जिम्मेवारी समेत बहन गर्दै आएको शाखा प्रमुख पौडेलले बताए ।
२०७६ साउनदेखि नयाँ नियुक्त भएका नेपाल सरकारको निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाल विशेष सेवाका करिब ८० हजार ४ सय योगदानकर्ता कर्मचारीहरुको करिव ११ अर्व २१ करोड निवृत्तिभरण कोषको व्यवस्थापन गरिरहेको समेत उनले बताए ।
शाखा प्रमुख पौडेलका अनुसार सञ्चय कोष र निवृत्तिभरण कोषको समेत गरी कुल स्रोत तर्फ हालसम्म करिव ५ खर्व ७१ अर्ब ३३ करोड रहेको छ । सञ्चय कोष प्रणाली सामाजिक सुरक्षाको प्रारम्भिक चरण हो भने योगदानमा आधारित निवृत्तिभरण प्रणाली विश्वव्यापी अवधारणा रहेको उनले जानकारी दिए ।
सञ्चयकर्ताहरुको जम्मा रकमको ९० प्रतिशत सम्मको विशेष सापटी अनलाइन मार्फत आवेदन गरी सञ्चयकर्ताको बैंक खातामै सापटी जम्मा हुने व्यवस्था मिलाएको उनले बताए । अन्य सुविधा अर्न्तगत घर निर्माण, घर खरिद, घर मर्मत, शैक्षिक सापटी, जग्गा खरिद र सरल सापटी जस्ता धितोमूलक सापटीहरूको व्यवस्था गरेको छ । साथै कोषले आफ्नो सञ्चयकर्ताहरुका लागी विभिन्न सामाजिक सुरक्षा सुविधाहरु प्रदान गर्दै आएको उनको भनाई रहेको थियो ।
कोषले बचतकर्ताको आर्थिक विकासमा सहयोग पुर्याउन विभिन्न जलविद्युत कम्पनीको शेयर सुरक्षण गरेको छ भने आ.व. २०७२।०७३ देखि २०७७/०७८ सम्मको मुनाफा रकम मध्येबाट सञ्चयकर्ताको बचत रकमको आधारमा प्रदान हुने मुनाफा रकमलाई कोषको अग्रसरतामा स्थापित बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमा रुपान्तरण हुने व्यवस्था मिलाएको समेत उनले जानकारी दिए ।
शाखा प्रमुख पौडेलका अनुसार कोषले आफ्ना सञ्चयकर्ताहरूलाई उपलब्ध गराउने सेवा सुविधाहरू स्थानीय स्तरमा नै उपलब्ध गराउँदै जाने नीति अनुरूप वि.स. २०६२ सालमा हेटौंडामा शाखा कार्यालयको स्थापना भइ सेवा दिँदै आएको हो । बागमती प्रदेशका १३ जिल्ला मध्ये मकवानपुर र चितवन गरी २ जिल्ला र मधेश प्रदेशका ८ वटा जिल्ला मध्ये वारा र पर्सा गरी २ जिल्ला समेत गरी यस कार्यालयको कार्य क्षेत्रमा ४ वटा जिल्ला रहेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्राचौरस्थित कोषको कार्यालय निर्माणधिन अवस्थामा रहेको समेत उनले बताए ।
हेटौंडा शाखाबाट विशेष सापटी, कोषकट्टी रकम भुक्तानी, सामाजिक सुरक्षा सुविधाहरू तर्फ दुर्घटना क्षतिपूर्ति योजना, सञ्चयकर्ता औषधोपचार कार्यक्रम, काजक्रिया अनुदान, सुत्केरी तथा शिशु हेरचाह कार्यक्रम अन्तर्गतका सुविधाहरू ७७ जिल्लाकै सञ्चयकर्ताले सेवा प्राप्त गर्न सक्ने छन् भने धितो मूलक सापटीहरू घर निर्माण, घर खरिद, जग्गा खरिद, घर मर्मत, शैक्षिक सापटी, सरल सापटी बारा, पर्सा, मकवानपुर र चितवन गरी ४ जिल्लाहरूमा मात्रै उपलब्ध गराइदै आएको छ ।
यस शाखा कार्यालयले बारा, पर्सा, मकवानपुर र चितवन गरी ४ जिल्लाका पूर्वाधार विकास भएका पालिका भित्र पर्ने क्षेत्रहरूमा सञ्चयकर्ता सापटी कार्यक्रम विस्तार गरिएको छ भने उपयुक्त स्थानमा क्रमिक रुपमा क्षेत्रगत सम्भाव्यता अध्ययन गरी विस्तार गर्दै जाने समेत उनले जानकारी दिए ।
कोषका उपत्यकास्थित पुल्चोक, ठमेल, लगनखेल र सिंहदरबारमा तथा उपत्यका बाहिर विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत, धनगढी र धनकुटामा कार्यालय रहेका छन् ।
कोष हेटौंडा शाखा प्रमुख डा. दिलिपराज पौडेलको सभाध्यक्षता तथा बागमती प्रदेशका प्रमुख सचिव कृष्णकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, बागमती प्रदेश मन्त्रालयहरुका प्रदेश सचिव अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, मानव अधिकार आयोग मकवानपुरका प्रमुख तथा प्रतिनिधिहरू, प्रदेशका मकवानपुर स्थित कार्यालयहरुका नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक, सशस्त्र प्रहरी वलका प्रहरी नायव महानीरिक्षक, राष्ट्रिय अनुसन्धानका प्रहरी नायव महानीरिक्षक एवं प्रतिनिधिज्यूहरू, कर्मचारी मिलन केन्द्र, मकवानपुरका अध्यक्षलगायतकाको आथित्यता रहेको थियो ।