मकवानपुर, ३१ भदौ ।
महालक्ष्मी साहित्य पुरस्कार २०८० महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ । मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंकले संयुक्तरुपमा प्रदान गर्दै आएकाे उक्त पुरस्कारबाट मकवानपुरकी साहित्यकार अर्याललाई सम्मान गरिने आइतबार पत्रकार भेटघाट गर्दै जानकारी दिइएकाे हाे ।
२०५६ सालमा स्थापना भएको समाजले २०५९ सालमा यती फाइनान्स साहित्य पुरस्कार को स्थापना भएको हो । यती फाइनान्स महालक्ष्मी बैंकसँग मर्ज भएपछि २०७४ को १५औँ सम्मानबाट पुरस्कारको नाम महालक्ष्मी साहित्य पुरस्कार भएको छ । उक्त पुरस्कारको राशी ५१ हजार रहेको जनाइएको छ ।
त्यस्तै, समाजसेवी ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापित केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० बाट हेटौंडा सन्देश दैनिकका सम्पादक माधवप्रसाद न्यौपानेलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारका राशी भने नगद १० हजार रहेको अध्यक्ष दाहालले बताए । सोही अवसरमा मकवानपुरश्री सम्मानबाट मकवानपुरका अग्रज शिक्षाप्रेमी बद्रीनाथ शर्मा अर्याललाई प्रदान गरिने भएको छ ।
सम्मान तथा पुरस्कार समर्पण असोज ५ गते शनिबार हेटौंडामा हुने जनाइएको छ । पत्रकार सम्मेलनमा समाजका प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष ह्यग्रीव आचार्य, समाजका अध्यक्ष कृष्णप्रसाद दाहाल, वैंकका शाखा प्रवन्धक अनन्तराज धिताल, समाजका पदाधिकारी, पत्रकार महासंघका कार्यबहाक अध्यक्ष ध्रुव अधिकारीलगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।