मकवानपुर, ३१ भदौ ।
भन्सार छलेर ल्याइएका लाखौँ रुपैयाँका लत्ताकपडा तथा विभिन्न किसिमका सामानसहित मकवानपुर प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा १५ स्थित रातोमाटे चेकपोष्टस्थित सडकमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको डब्लु बी ४९ एन २१७८ नम्बरको भारतीय बसबाट भन्सार छलेर ल्याइएका १३ लाख बराबरको सामानसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बसका चालक देश भारत पश्चिम बंगाल जिल्ला मदेनिपुर ग्राम तमलुक बस्ने बर्ष ३१ को सदाम खान, सोही बसको अर्का चालक पश्चिम बंगाल वंकुरा ग्राम रतनपुर बस्ने बर्ष ३८ को काली मुडी र सहचालक पश्चिम बंगाल मदेनिपुर ग्राम बस्ने वर्ष ३० को जयदेव हेमराम रहेका छन् । शंका लागी खानतलासी गर्नेक्रममा निजहरुको शरीर तथा उक्त बस समेतको खानतलासी गर्दा सो बसको विभिन्न भित्री भागमा फल्स बटम बनाई अवैध भन्सार छली चोरी पैठारी गरी ल्याईएका लत्ता कपडा १०६० थान (कुर्ती), तुलसी १५० ग्रामको २७० थान, मोजी मस्ती ड्रड लेखिएको ९६० थान, तामाको सानो कचौरा १४ थान, सुन सफा गर्ने ब्रस ३६ थान, प्लेट १२ थान, ग्यास लाईटर ७ थान, तार ३१ थान, तामा जस्तो देखिने रड २ थान, किड २२ थान, पम्प ५ थान गरी अन्दाजी १३ लाख बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भारतीय यात्रु बाहक बस र सो बसका चालक तथा सहचालकहरु नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको प्रहरीले जानकारी दिएको छ ।