मकवानपुर, ३० भदौ ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समावेशी सहभागिताको जग काँग्रेसले नै बसालेको बताएका छन् । आइतबार पार्टीले हेटौँडामा आयोजना गरेको अभिमुखीकरणमा महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
संविधान संशोधन गरेर समावेशी सहभागिता हटाइन्छ भन्ने माओवादी केन्द्रले आरोप लगाउँदै आएको भन्दै उनले उक्त विषयमा भ्रममा नपर्न आग्रह गरे । अग्रगामी काम हुने गरी मात्र संविधान संशोधन हुुने उनले बताए । ‘अहिले देशमा संविधान संशोधनको विषय आइरहेको छ’ शर्माले भने, ‘विभिन्न पाटोबाट संविधान संशोधन गर्न सकिन्छ ।’
संविधान अझै आकर्षक, लोकप्रिय र मुलुकमा स्थिर सरकार दिन सक्ने गरी नयाँ कुरा राखेर मात्र संविधान संशोधन गनुपर्ने उनको भनाइ रहेको छ । देशमा दुई पटकभन्दा बढी राष्ट्रपति बन्न नपाउने, तीन पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा उल्लेख गरी हालको व्यवस्थालाई परिमार्जन गर्नुपर्ने उनले बताए । ‘सरकारले पूरा कार्यकाल काम गर्न सक्ने व्यवस्था बनाउनु पर्छ’ उनले भने, ‘संविधानमा कुनै पनि दल निर्वाचनमा गइसकेपछि दोस्रो, तेस्रो र बाँकी दलहरु सरकारमा नजाने र लोकप्रिय मतसहित बहुमत ल्याउने पहिलो दलले नै सरकारको नेतृत्व गर्न पाउने व्यवस्था स्पष्ट लेख्नुपर्छ ।’
महामन्त्री शर्माले निर्वाचनमार्फत चौथो दलको हैसियतमा प्रतिनिधित्व गर्न म्याण्डेट पाएकाले नैतिक रुपमा सरकारमा जान नहुने बताए । आफ्नो पार्टी सरकारमा हुँदा आफ्नो पालो भए पनि गगन थापा र आफू सरकारमा नगएको उनले स्पष्ट पारे । पहिलो पटक जितेर आएको नयाँ दलले संसद छिर्ने बित्तिक्कै गृहमन्त्री नै चाहिन्छ भन्दै बार्गेनिङ गरेको आरोप रास्वपालाई लक्षित गर्दै लगाए ।
सभापतिलाई सहकारी ठगीको आरोप लाग्दा रास्वपाका पदाधिकारीहरुले आफ्नो सभापतिको छानबिन गर्न अवरोध गरेको र आफूले काँग्रेस उपसभापति धनराज गुरुङलाई आरोप लाग्दा गहिरो रुपमा छानबिन गर्नुपर्ने आवाज उठाएको समेत उनले बताए ।
देशमा रुपान्तरण आवश्यक रहेको भन्दै यसको जिम्मा काँग्रेसले लिनुपर्ने उनले बताए । सामाजिक विसंगति अन्त्य गर्न जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुने बताउँदै उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नागरिकको मन जित्ने गरी काम गर्न आग्रह गरे ।
मकवानपुर जिल्लामा स्थानीय तह निर्वाचन २०७९ को समीक्षाको लागि महामन्त्री शर्मा हेटौंडा आएका हुन् । कांग्रेसको स्थानीय तह केन्द्रीय समन्वय विभागले आफ्नो पहिलो कार्यक्रम बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडाबाट सुरु गरेको हो ।