काठमाडौँ, २९ भदौ ।
गीतकार तथा गजलकारको रूपमा छवि बनाएका गोर्खाका स्रष्टा गणेशबाबु अधिकारीको पहिलो उपन्यास ‘रेजा’ सार्वजनिक भएको छ । राष्ट्रिय नाचघर जमलमा शनिबार उपन्यास सार्वजनिक भएको छ । पेज टर्नर प्रकाशनका अध्यक्ष भुवनहरि सिग्देल, कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, विशेष अतिथि छवि वैरागी, समालोचकद्वय महेश पौड्याल र सुमन वर्षाले उपन्यासको लोकार्पण गरेका थिए ।
कृति लोकार्पणपछि कृतिमाथि अन्तर्क्रिया कार्यक्रम भएको थियो । समालोचक महेश पौड्यालले नेपाली उपन्यास लेखनको विगतदेखि वर्तमानसम्मको विशेषता प्रस्तुत गरेका थिए । युवा पुस्ताले साहित्यका सबै विधामा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सकेका छन् भन्दै पौड्यालले पाश्चात्य साहित्यका लेखक र कृतिका उदाहरण दिँदै नेपाली साहित्यको वर्तमान अवस्थाको चित्रण गरेका थिए ।
रेजा उपन्यासमा प्रेमको विषयलाई समाजसँग लेखकले राम्ररी जोड्न सकेका छन् भन्ने विचार पौड्यालले प्रस्तुत गरेका थिए । अर्का वक्ता सुमन वर्षाले आख्यान लेखनको वर्तमान अवस्थाका बारेमा आफ्नो धारणा राखेकी थिइन् । उपन्यासमा प्रयोग भएका पात्र एवम् विषयवस्तु हाम्रै वरिपरि भेटिने भएकाले रेजा उपन्यासका माध्यमबाट समाज चिन्न सकिन्छ भन्ने विचार सुमन वर्षाको रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि कृतिमाथि आफ्नो टिप्णी राखेका थिए । गोर्खा जिल्लालाई कार्यपीठिका बनाएर लेखिएको उपन्यासले आञ्चलिकताको मर्म बोकेको कुरा बताएका थिए । प्रेमिल उपन्यास भए पनि दर्शनको गहिरो आयाम भेट्न सकिने रेजामा युवाहरूको समस्या अनि समाधानको बाटो पनि रहेको छ भन्ने टिप्पणी डा.बाबुराम भट्टराईले गरेका थिए ।
कृतिमाथिकोे अन्तर्क्रिया कार्यक्रमकको सहजीकरण समालोचक महेश कार्की क्षितिजले गरेका थिए । उपन्यासलाई पेज टर्नर प्रालिले बजारमा ल्याएको हो ।