भरतपुर, २९ भदौ ।
भरतपुर–५ स्थित अभ्युदय बहुउद्देश्यीय सहकारी संस्था लि. ले स्थापनाको २५ औं वर्षको अवसरमा विविध कार्यक्रम गरी रजत जयन्ती मनाउने भएको छ । सहकारीले पत्रकार सम्मेलनको आयोजना गरी रजत जयन्तीको अवसरमा आयोजना गरिएका विविध कार्यक्रमबारे जानकारी गराएको हो ।
रजत महोत्सव अन्तर्गत सहकारीले भदौ ३० गते सरसफाई, भदौ ३१ गते सहकारी शिक्षा कार्यक्रम, असोज १ गते मानव सेवा कार्यक्रम, असोज २ गते रक्तदान कार्यक्रम, असोज ३ गते रजत जयन्ती समारोह तथा स्मारिका विमोचन र दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरेको सहकारीका अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
संस्थाले सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरूलाई आत्मसात गर्दै सहकारी ऐन तथा समयसमयमा यसका नियामक निकायले जारी गरेका विभिन्न निर्देशनहरुलाई पालना गर्दै समुदायमा आधारित सहकारिताको अभ्यास गर्दै आएको एवं नीति, विधि र प्रविधिमा आधारित आफ्ना व्यावसायिक कारोबार गर्दै आएकोले आज यो संस्था अन्य सहकारी संस्थाभन्दा सबल रहेको संस्थाका सचिव राजीव ओझाले बताए ।
सहकारीले बचत तथा ऋण परिचालन, दुग्ध संकलन तथा खरिद बिक्री, दाना चोकर खरिद बिक्री, मल बिउ खरिद बिक्री, रेमिट्यान्स सेवा तथा बिजुली र खानेपानी महसुल, शेयर सदस्य केन्द्रित विभिन्न तालिम, गोष्ठी तथा भ्रमणलगायतका सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम गर्दै आएको सहकारीका सहसचिव तथा रजत जयन्ती प्रचारप्रसार समितिका संयोजक विष्णु दवाडीले जानकारी दिए ।
२०५७ साल असोज ३ गते ५० जना शेयर सदस्यहरुबाट स्थापना भएको उक्त सहकारीको कार्यक्षेत्र भरतपुर महानगरपालिकाको वडा नम्बर १ देखि १४ सम्म रहेको छ । यस सहकारीका संस्थापक अध्यक्ष नवराज चापागाई हुन् । सहकारीमा हाल एक हजार ४ सय १६ जना शेयर सदस्य रहेका छन् । उक्त सहकारीले करिब २० करोडको पुँजी निर्माण गरी वित्तीय तथा गैरवित्तीय कारोवार गर्दै आएको छ ।