भरतपुर, २९ भदौ ।
भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा सामाजिक शिक्षा प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुद्वारा तयार पारिएका विविध सामग्रीसहित विद्यालयको प्राङ्गणमा उक्त प्रदर्शनी शुक्रबार सम्पन्न भएको हो ।
‘सामाजिक प्रदर्शनी ः इतिहास, संस्कृति र समाजमार्फत् एउटा यात्रा’ नारा दिइएको उक्त प्रदर्शनीमा विद्यार्थीहरुले निर्माण गरेका वाद्यवादन, ऐतिहासिकता झल्काउने सामग्री, र सजावटसम्बन्धी सामग्रीहरुको प्रदर्शनी गरिएको थियो ।
सामाजिक विषयमा विद्यार्थीहरुको ज्ञान वृद्धि गर्ने तथा विद्यार्थीलाई रचनात्मक र सिर्जनात्मक कार्यमा क्रियाशील गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उक्त कार्यक्रमको संयोजन गरेका मावि तहप्रमुख अर्जुन जी शर्माले बताए । कार्यक्रमले नेपाली संस्कृतिमा निहित विविधतामा एकताको मर्मलाई बल पु¥याएको विद्यालयका आवासीय निर्देशक नैम चौधरीले जानकारी दिए ।
प्रदर्शनीमा विद्यार्थीहरुले निर्माण गरेका विभिन्न सजावटका सामग्री, खेलकुद सामग्रीलगायत ऐतिहासिक महत्वका पुराना भाँडाकुँडा, घरायसी हातहतियार, नारायणहिटी, धरहरा, लुम्बिनी, स्थानीय उत्पादनहरु, नेवारी संस्कृति झल्काउने कुमारी, कुमारीघर, रथलगायतका दर्जनौँ सामग्रीको प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले नेपालको शाहवंशीय पूर्वराजाहरु, तत्कालीन समयका भाइभारदारहरुबारे जानकारी दिने प्रदर्शनी, नेपालका प्रमुख पर्यटकीय स्थलहरुको भौगोलिक तथा पर्यटकीय महत्वबारे जानकारी र नेपालका विविध साँस्कृतिक विविधता र एकताबारे जानकारी दिएका थिए । प्रदर्शनीमा स्थानीयस्तरमा उत्पादित वस्तुहरुबाट तयार पारिएका योमरी, पानीपुर, मःम, छोइला, सेकुवालागतका खानाका परिकारहरु र फलफूहरुको स्टलसमेत राखिएको थियो ।
प्रदर्शनीमा विद्यार्थीहरुले सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरेका थिए । विद्यार्थीहरु नेवारी, तामाङ, गुरूङ, मगर, ब्राह्मण, क्षेत्रीलगायतका जातीय पोशाकमा सजिएका थिए । विद्यार्थीहरुले निकालेको लाखेनाच आकर्षणको केन्द्र बनेको थियो । प्रदर्शनीस्थलमा राखिएका सामग्रीहरुको बारेमा अभिभावकहरुले राखेको जिज्ञासाबारे विद्यार्थीले जवाफ दिएका थिए ।
कार्यक्रमबाट विद्यार्थीहरुले जनसम्पर्कको महत्वबारे जानकारी पाएको र सामाजिक अध्ययनमा स्थानीय उत्पादनहरुले खेल्ने भूमिकाको बारेमा जानकारी लिएका थिए ।