गैंडाकोट, २९ भदौ ।
पठन संस्कृति अभियानको छैटौँ शृङ्खलामा नियात्राकार एवम् उद्यमी जीवा लामिछाने प्रस्तुत भएका छन् ।
प्रमुख अतिथि लामिछानेले पठन संस्कार समाजका लागि आवश्यक रहेको बताएका छन् । पढ्ने बानीको सम्पर्क दिमाग र चेतनासँग हुने भएकोले मानवजीवनमा पठन संस्कार महत्त्वपूर्ण मानिएको लामिछानेले बताए ।
चितवनको पदमपुरमा जन्मे हुर्केका लामिछानेले भने – `म पनि सानैदेखि पढ्ने कुरामा जोडिएको हुँ । टाँडी बजारमा आउँदा चटपट प्याक गर्न राखिएका कागज, पसलमा विभिन्न सामान बेरिएर राखेका पुराना र फालिएका कागज पत्रपत्रिका पनि सङ्कलन गरेर पढ्ने गर्दथेँ । कुनैकुनै बेला अत्यन्तै राम्रा र जीवनोपयोगी सामग्री फेला पार्दथेँ ।´
लामिछानेले १० वर्षको उमेरदेखि नै अतिरिक्त किताब पढ्न थालेको सुनाए । `महाभारत, रामायण, गुणरत्नमालालगायतका किताब ७ कक्षामा हुँदै पढेको हुँ, म त्यतिबेला १० वर्षको थिएँ´, लामिछानेले भने – `त्यतिबेला बुझेर भन्दा पनि पौराणिक, धार्मिक किताबको रूपमा ती कृति पढेको थिएँ । अहिले पनि यात्रामा निस्कँदा किताब पढ्ने गरेको हुन्छु । मेरो झोलामा ४/५ वटा किताब भैरहेकै हुन्छन् ।´
प्रविधिको विकाससँगै सामाजिक सञ्जालले पढ्ने बानीलाई असर पुर्याएको लामिछानेले बताए । `डिजिटल पनि एक किसिमको अध्ययन हो, तर त्यसमा आफूले पढिएका सामग्री कत्तिको उपयोगी र महत्त्वपूर्ण छन्, तिनको विशेष ख्याल राख्नुपर्दछ´ लामिछानेले बताए ।
कार्यक्रममा वीपी कोइरालालाई विशेष स्मरण गरिएको थियो । वीपी जन्मजयन्ती चलिरहेको सन्दर्भमा वक्ताहरुले वीपी कोइरालाको साहित्य र राजनीतिक योगदानको बारेमा बोलेका थिए । साहित्य नलेखेको भए नेपाली साहित्य अपुरो हुने नेपाली कांग्रेसका नेता गुरु घिमिरेले बताए । नेपाली साहित्य र राजनीतिमा कोइरालाको समानान्तर भूमिका भएको उनले बताए । वीपीको प्रेरणाले हामी आफू पनि लेखनमा सक्रिय रहनुपर्ने बताउँदै हाम्रो लेखन आगामी पुस्तालाई प्रेरणा हुनुपर्ने घिमिरेले बताए ।
स्रस्टा उदय अधिकारीले नेपाली साहित्यका पाठकलाई वीपी कोइरालाले राम्रा कृति दिएको उल्लेख गरे । अधिकारीले पठन संस्कृति अभियानको महत्त्व विशेष रहेकोेले यो कार्यक्रमलाई निरन्तरता दिन सबैजना लाग्नुपर्ने उनले बताए ।
कार्यक्रममा अमृता रसाइलीले आफ्नै कृति `खण्डित इन्द्रेणी´को पुस्तक परिचय राखिन् । त्यसैगरी लेखक गोपी सापकोटाले अङ्ग्रेजी पुस्तक `सान्ताराम´ को पुस्तक प्रतिक्रिया राखे । यो पुस्तकमा सामान्य मान्छेका जीवन र मानसिक चरित्र उतारिएको उनले बताए । यो पुस्तकमा प्रेम र विश्वासलाई फरक तरिकाले व्याख्या गरिएको सापकोटाले सुनाए । साबुनपानी हात सफा भएजस्तै किताबी ज्ञानले दिमागलाई सफा गर्न सापकोटाले बताए । गैंडाकोट निवासी सापकोटाका काँचो कागज, चिसो बाफ, लन्डन अनप्लग्डलगायतका कृति प्रकाशित छन् ।
कार्यक्रममा सहभागी हुन पूर्वीचितवनको खैरहनीबाट आएका हेमराज खतिवडाले नेलसन मण्डेलाको `द लङ वाक टु फ्रीडम´, विष्णु सापकोटाको `अडिएका पाइला´सहित केही कृतिको बारेमा पाठकीय टिप्पणी सुनाए । कार्यक्रममा खतिवडाले वीपीको साहित्यिक र राजनीतिक योगदानको चर्चा पनि गरे ।
त्यसैगरी त्रिवेणी साहित्य प्रतिष्ठान नवलपरासीका अध्यक्ष इन्द्रराज पौडेलले `कृष्णप्रसाद भट्टराई´ पुस्तकको बारेमा चर्चा गरेका थिए । गैंडाकोट निवासी रामचन्द्र चालिसेले जीवन जीवन्तको पुस्तक `चरैवेति´को चर्चा गरे । कावासोतीबाट आउनुभएकी सरस्वती तिमिल्सिनाले कृष्ण अविरलको `करिया´ उपन्यास बारे पाठकीय टिप्पणी राखिन् । पुस्तकमा महिलाको यौन शोषणसँगै सामाजिक र आर्थिक शोषणको चर्चा भएको र हली, बालीघरे र खेतालाका नाममा मानव बेचबिखनको अँध्यारो पक्ष किताब समेटिएको तिमिल्सिनाले बताइन् । पाठकीय टिप्पणी अन्तर्गत कार्यक्रमको अन्त्यमा शंकर आचार्यले कवितासङ्ग्रहको बारेमा प्रतिक्रिया सुनाएका थिए ।
सोही कार्यक्रममा सुभाष घिमिरेले नेपालीबाट अंग्रेजी भाषामा अनुवाद गर्नुभएको B.P. Koirala’s Statement In Court पुस्तकलाई विमोचन गरिएको छ ।
अभियानका संयोजक त्रिलोचन सापकोटा, प्रमुख अतिथि जीवा लामिछाने, गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी र विजय विकास स्रोत केन्द्रका प्रबन्ध निर्देशक केशवप्रसाद सापकोटाले पुस्तक विमोचन गरेका हुन् । विमोचन गरिएको पुस्तक बारेमा उदय अधिकारीले टिप्पणी राखेका थिए ।