गैंडाकोट, २९ भदौ ।
विभिन्न संघसंस्थाले आयोजना गर्ने औपचारिक कार्यक्रमहरुमा अतिथि एवं प्रमुख अतिथिलाई मायाको चिनोस्वरुप काष्ठकलाका विभिन्न सामग्री दिँदै आएको हामीले देखेकै छौं तर शनिबार गैंडाकोटमा आयोजित एक कार्यक्रममा अतिथि र प्रमुख अतिथिलाई मायाको चिनोस्वरुप पुस्तक दिइएको छ ।
गैंडाकोट नगरपालिका वडा नम्बर २ मा रहेको गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३ औं वार्षिक साधारणसभा एवं अधिवेशनमा सहभागी अतिथिहरु र प्रमुख अतिथिलाई मायाको चिनोस्वरुप पुस्तक दिइएको हो ।
गण्डकी सहकारीको वार्षिक साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि थिए गैंडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी । उनी साधारणसभा उद्घाटन समारोहको निर्धारित समय बिहान ११ बजे नै कार्यक्रमस्थलमा पुगेका थिए । उनी कार्यक्रमस्थलमा पुग्दा अन्य अतिथिहरु भने आउने क्रम बल्ल सुरु भएको थियो । करिब आधा घण्टासम्म मञ्चमा सहकारीका अध्यक्ष पोषणराज सुवेदी र प्रमुख अतिथि अधिकारी गफ गरेरै बसे ।
निर्धारित समयभन्दा आधा घण्टा ढिलो गरी ११ः३० बजेतिर बल्ल सहकारीका सहसचिव केशवराज शर्माले कार्यक्रम सञ्चालन गर्न सुरु गरे । आधा घण्टा जति समय आसनग्रहणमै बित्यो । सहकारीका वरिष्ठ उपाध्यक्ष केदारनाथ न्यौपानेको स्वागत मन्तव्यपछि ठिक १२ बजे प्रमुख अतिथि अधिकारीले दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरे । उद्घाटनकै क्रममा नगर प्रमुख अधिकारीले मञ्चको अग्रभागमा राखिएको काठको ठूलो खुत्रुकेमा नजिकै किस्तीमा सजाइएका ५० रुपैयाँका नयाँ नोटमध्ये एउटा टिपेर खसाले ।
कार्यक्रममा सचिव कुलप्रसाद पाण्डे विशेष कारणवश अनुपस्थित रहेकाले प्रगति प्रतिवेदन र प्रस्तावित नीति तथा कार्यक्रम सहसचिव एवं कार्यक्रम सञ्चालक शर्माले नै वाचन गरे । २२ पृष्ठ लामो प्रतिवेदन वाचन गर्दैमा करिब आधा घण्टा बित्यो । अन्य कार्यक्रममा समेत जानु पर्ने भएकोले प्रमुख अतिथिले आयोजकलाई आग्रह गरी बिचैमा मन्तव्य राखे ।
गैंडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले प्रमुख अतिथिको रुपमा सभालाई सम्बोधन गर्दै भने, ‘शेयर सदस्यहरुको बचत रकम खाएर सञ्चालक विदेश भागेका सहकारीहरु पनि छन् तर गण्डकी सहकारीले शेयर सदस्यहरुको आर्थिक उन्नतिका लागि इमानदारीपूर्वक काम गरेको छ ।’ उनले नगरभित्रका विपन्न वर्गलाई वित्तीय सेवा दिँदै आएको भन्दै गण्डकी सहकारीलाई धन्यवाद दिए ।
छोटो मन्तव्य दिएर कार्यक्रमबाट बाहिरिन लागेका प्रमुख अतिथि एवं नगर प्रमुख अधिकारीलाई आयोजकले मायाको चिनोस्वरुप पत्रकार सुधीर शर्माको भर्खरै प्रकाशित पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह’ हातमा थमाए । भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकाभित्र आयोजना हुने केही कार्यक्रममा मायाको चिनोस्वरुप पुस्तक दिने क्रम सुरु भइसकेको छ । पठन संस्कृतिको विकासमा महत्वपूर्ण मानिएको यस कार्यमा नारायणगढस्थित सम्पूर्ण किताबले सहजीकरण गर्दै आएको छ ।
सहकारीमा साढे सोह्र हजार शेयर सदस्य
गैंडाकोटमा रहेको गण्डकी बचत तथा ऋण सहकारी संस्थामा १६ हजार ५ सय ९७ शेयर सदस्य रहेका छन् । संस्थाको कुल सम्पति २ अर्ब १० करोड ५८ लाख ९८ हजार रुपैयाँ रहेको छ । संस्थाको शेयर पुँजी १९ करोड ८९ लाख ६९ हजार छ । कुल बचत १ अर्ब ५० करोड ६५ लाख ५४ हजार र लगानीमा रहेको ऋण १ अर्ब १५ करोड ६३ लाख ४ हजार रुपैयाँ छ ।
गण्डकी सहकारीको सञ्चालक समितिमा १७ जना छन् भने कर्मचारी संख्या ३७ रहेको छ । संस्थाले ७ वटा सेवा केन्द्रबाट समेत शेयर सदस्यहरुलाई वित्तीय सेवा दिँदै आएको छ ।
अध्यक्षमा गोविन्द सुवेदी
गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३ औं वार्षिक साधारणसभा एवं अधिवेशनले गोविन्द सुवेदीलाई अध्यक्ष पदमा सर्वसम्मत गरेको छ । सुरेश पण्डित संयोजक तथा लीलाधार कँडेल र सुवास चापागाईं सदस्य रहेको निर्वाचन उपसमितिले सुवेदीलाई अध्यक्ष पदमा चयन गरेको हो ।
त्यसैगरी उपाध्यक्षमा केदारनाथ न्यौपाने, सचिवमा केशवराज शर्मा, कोषध्यक्षमा सकुन्तला न्यौपाने र सहसचिवमा जयकृष्ण सापकोटा रहेका छन् । त्यस्तै सञ्चालक सदस्यहरूमा क्रमश: विष्णु पौडेल, केशव ढकाल, रोशन सापकोटा, नेत्रप्रसाद अधिकारी, मेधनाथ पौडेल, निर्मल न्यौपाने, शुभेच्छा दली प्रधान र प्रमिला सापकोटा छन् । लेखा तथा सुपरिवेक्षण समिति संयोजक विष्णुप्रसाद शर्मा, सदस्यमा बाबुराम खनाल र राधादेवी आचार्य रहेका छन् ।