भरतपुर, २९ भदौ ।
चितवन उद्योग संघ, भरतपुर परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रमा असोज महिनामा पर्व मेला आयोजना गरिने भएको छ । अन्य दुई संस्थासँग मिलेर उद्योग संघले आयोजना गर्न लागेको पर्व मेलाबारे शनिबार संघमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।
संघले बेस ग्लोबल प्रालिसँगको सहकार्यमा असोज १ देखि २४ गतेसम्म जुत्ताचप्पल व्यापार मेला आयोजना गर्दैछ । व्यापार मेलामा नेपालमा उत्पादित जुत्ता र चप्पल १५ देखि ५० प्रतिशतसम्म छुटमा बिक्री गर्न लागिएको छ । यस मेलामा जुत्ताचप्पल उत्पादन गर्ने आठ वटा कम्पनीका ४० वटा स्टल रहने र त्यहाँबाट विभिन्न ब्राण्डका स्वदेशी जुत्ता र चप्पल खरिद गर्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पर्व मेला अन्तर्गत नै असोज १६ देखि १९ गतेसम्म संघले चितवन अटोमोबाइल डिलर्स एसोसिएसनसँगको सहकार्यमा काडा अटो शो आयोजना हुँदैछ । चितवनमा पहिलोपटक आयोजना हुन लागेको अटो शोमा एउटै छानामुनि २० भन्दा बढी ब्राण्डका गाडी तथा मोटरसाइकलका स्टलहरु रहने छन् । अटो शोमा प्रदर्शनी हुने सवारीसाधनमध्ये ८० प्रतिशत विद्युतीय सवारीसाधनहरु रहने र खरिदकर्तालाई सरल किस्ताबन्दीको सुविधासमेत रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
निःशुलक प्रवेश गर्न पाइने पर्व मेलाको अवलोकन ५० हजार जनाभन्दा बढीले गर्ने अनुमान गरिएको छ । पर्व मेला अन्तर्गत आयोजना हुने जुत्ताचप्पल व्यापार मेलामा एक करोड ५० लाख र अटो शोमा ३० करोड रुपैयाँको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।
संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष त्रिलोचन कँडेल, अटोमोबाइल व्यवसायी दिनुप बराल, नेपाल फुटवेयर एसोसिएसनका वरिष्ठ उपाध्यक्ष सुरज बन्जाडेलगायतले मेलाबारे विभिन्न जानकारी दिएका थिए । वर्तमानमा खस्किएको अर्थतन्त्रलाई चलायमान बनाउन मेलाले सहयोग गर्ने उनीहरुले बताए ।