मकवानपुर, २८ भदौ ।
मकवानपुरका दुई जना सञ्चारकर्मीले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामग्री सहयाेग गरेका छन् । मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्ट र तामाङ पत्रकार संघ मकवानपुरका उपाध्यक्ष सन्देश थिङले २८ भदौमा परेकाे जन्मदिनमा शैैक्षिक सामग्री सहयोग गरेका हुन् ।
पत्रकार विष्टले आफ्नो ६४ औं जन्मदिनमा वनकरीया समुदायका ३५ जना बालबालिकालाई शैक्षिक सामग्री सहयाेग गरे । उनले मकवानपुरको मनहरी गाउँपालिका–४ हाडिखोलाका लोपन्मुख वनकरीया जातिका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन् । उनले बालकालिकाहरुलाई शैक्षिक सामग्रीका साथै खेलका लागि क्यारमबोर्ड समेत बितरण गरे । विष्ट हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष एवम् विभिन्न संस्थामा आवद्ध छन् ।
यस्तै थिङले पनि शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन् । थिङले शुक्रबार मनहरी–२, भुन्द्रुङ्गटाडीमा रहेको सीता माध्यमिक विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका छन् । उनले कक्षा १ देखि ५ सम्म अध्ययनरत २ सय विद्यार्थीलाई कापी र २ थान फुटबल हस्तान्तरण गरेकाे हुन् । थिङ सोही विद्यालयको पूर्व विद्यार्थीसमेत हुन् । पढ्नकै लागि पर्सा जिल्लाको सिमाना मनहरीको भिमानदेखि करिब ३ घण्टा हिँडेर आउने विद्यार्थी लक्षित गरी सामग्री सहयोग गरिएकाे थिङले बताए ।