भरतपुर, २७ भदौ ।
महिला बालबालबालिका र मानवअधिकारको रक्षाका लागि क्रियाशील संस्था आदर्श नारी विकास केन्द्रले राप्ती नगरपालिकामा शाखा विस्तार गरेको छ । राप्ती नगरपाालिका ५ स्थित तरकारी तथा फलफूल सङ्कलन तथा बिक्री केन्द्रको सभाहलमा गरिएको विशेष भेलामार्फत राप्ती नगरमा शाखा विस्तार गरिएको हो । राप्ती नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सीताराम वल, वडा नम्बर २ का वडाध्यक्ष श्यामसुन्दर उप्रेती, वडा नम्बर ६ का वडा सदस्य ममता कुँवरलगायतका जनप्रतिनिधि र सामाजिक व्यक्तिहरुको रोहवरमा भएको भेलाले अनिता खरेलको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको छ ।
समितिको सहसंयोजकमा तुलसी कुवँर, सचिव बुद्धिमाया श्रेष्ठ, सहसचिव सम्झना अधिकारी र कोषाध्यक्षमा लक्ष्मी रिजाल चयन भएका छन् । यस्तै सदस्यहरुमा धनमाया मगर, माया पाण्डे, इन्दिरा बर्तौला, कृष्णकला डल्लाकोटी, साहार प्रजा, निलकुमारी भट्ट, पार्वती नेपाली र सीता रिजाल चयन भएका छन् । सो अवसरमा बोल्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका वडा नम्बर ५ का वडाध्यक्ष सीताराम बलले संस्थाले गरिरहेको कामको उच्च प्रसंशा गर्दै महिला बालबालिकाको सवाल र हिंसा न्युनीकरणको अभियानमा वडा कार्यालय सँगै रहने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथिसमेत रहनुभएका वडा नम्बर २ का वडाध्यक्ष श्यामसुन्दर उप्रेतीले आदर्श नारीले मानवअधिकार, महिलाअधिकार र वालअधिकारसँगै उनीहरुको संरक्षण र विकासमा गरेको कामदेखि आफू प्रभावित भएको बताए । यस्तै सामाजिक अभियन्ता अनिता मैनालीले आदर्श नारीलाई आफूले लामो समयदेखि चिन्ने भन्दै आदर्शले महिलालालाई परेको अन्यायको विरुद्ध बुलन्द आवाज उठाउने गरेको बताइन् । उनले आदर्श नारी कुनै झुन्डको संस्था नभई अन्यायमा परेकाहरुको न्यायका लागि अनवरत लड्ने संस्थाको रुपमा परिचित रहेको भन्दै राप्ती नगर समितिले पनि यसको मर्म र भावना अनुसार काम गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रमका सहभागीले राप्ती नगरपालिकामा विशेषगरी, महिलामाथिको हिंसाको घटना बढ्दो क्रममा रहेको बताएका थिए । उनीहरुले लागुऔषध बालविवाह, बहुविवाह, लैगिंक हिंसाको समस्या जटिल रहेको भन्दै यसका विरुद्ध अभियान चलाउन संस्था उदाहरणीय र नमुना बनोस् भन्ने कामना गरेका थिए ।
सो अवसरमा आदर्श अभियानका सदस्य एवं मनोसामाजिक परामर्शकर्ता निश्चल सापकोटाले मानसिक स्वास्थ्य प्रवर्धनका लागि सबैले खुलेर संवाद गनुपर्नेमा जोड दिए । सकरात्मक सोच र विचारले मानसिक स्वास्थ्यलाई मजबुद बनाउन सकिने भन्दै उनले आदर्श नारीले राम्रो मन, सुन्ने मन र आदर्श मनको भनाईलाई मानिसको व्यवहारमा पनि लागू गराउन अभियानमुलक गतिविधि अगाडि बढाईरहेको बताए । नेपालमा प्रतिदिन १९ जनाले आत्महत्या गरेको तथ्याङ्क बाहिर आइरहँदा यसो हुनुमा मनलाई कन्ट्रोल गर्न नसक्नु भएको उनको भनाई थियो ।
संस्थाको कार्यक्रमलाई फराकिलो बनाउन शाखा विस्तार गरिएको संस्थाका अध्यक्ष उषा खरेल सुवेदीले बताइन् । आदर्शले यसअघि कालिका नगरपालिका र इच्छाकामनामा शाखा विस्तार गरिसकेको छ ।
नवगठित समिति संयोजक खरेलले आदर्श नारीको मर्म र भावना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा सचिव सरिता सुवेदी पाठक, कालिका शाखा अध्यक्ष मेनुका थापा अधिकारीलगायतले बोलेका थिए ।
`महिलाहरुको अन्तरनिहित शक्तिको सबैले कदर गरौँ´ भन्ने मुल मन्त्रका साथ स्थापित यस संस्थाले महिला तथा बालबालिकाहरु बिना भेदभाव सम्मानित एवं शोषण मुक्त जीवन बाँच्न सक्ने अवस्थाको सृजना गरी उनीहरुमाथिको विभेद, शोषण, दमन र हिंसात्मक गतिविधिहरुको अन्त्य गर्ने लक्ष्य राखेको छ । संस्थाले विभिन्न परिवेशबाट जोखिममा परेका असहाय महिला तथा बालबालिकाहरुको कानुनी अधिकारका लागि कानुनी परामर्श, सहायता, वकालत एवं पैरवी गर्ने र विपन्न तथा जेहेन्दार बालबालिकाहरुको लागि शैक्षिक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने गर्दछ ।
यस्तै घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार, असुरक्षित वैदेशिक रोजगार, बालश्रम तथा यौन शोषण, असुरक्षित गर्भपतन, द्वन्द्वप्रभावित, एचआईभी एड्स सम्बन्धी चेतनामूलक तालिम, गोष्ठीलगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
‘जसको सवाल उसकै नेतृत्व’ अनुसरण गर्दै व्यवहारिक रुपमा समस्याहरुको पहिचान गरी प्राथमिकताका आधारमा पीडित, प्रभावितहरुको सहभागिता एवं नेतृत्वमा जोखिम न्यूनीकरण कार्यक्रमहरु सञ्चालन गर्ने संस्थाको उद्देश्य रहेको छ ।