मकवानपुर, २७ भदौ ।
बागमती प्रदेश प्रहरी प्रमुख र प्रदेश अन्तर्गतका प्रहरी प्रमुखबीच कार्यसम्पादन सम्झौता भएकाे छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले प्रदेश अन्तर्गतका प्रहरी प्रमुखहरुसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेका हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा बिहीबार आयोजित एक कार्यक्रमका बीच प्रत्यक्ष एवं भर्चुअल माध्यमबाट आर्थिक वर्ष २०८०।०८१ को कार्य सम्पादन सम्झौता भएकाे हाे । चालु आर्थिक वर्षको लागि प्रदेश अन्तर्गतका १० वटा जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, नेपाल प्रहरी विशेष सुरक्षा गण, बागमती प्रदेश प्रहरी गण गरी १४ वटा कार्यालयका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिएकाे हाे ।
कार्यसम्पादन अन्तर्गत जिल्ला प्रहरी कार्यालयको लागि ४० वटा, बागमती प्रदेश प्रहरी तालिम केन्द्र र ट्राफिकको लागि १८ र प्रहरी गणहरुको लागि १९ वटा वार्षिक कार्यसम्पादन क्रियाकलापहरु समावेश गरी सम्झौता गरिएकाे हाे । कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रे सहित बागमती प्रदेश प्रहरी कार्यालय मातहत प्रहरी प्रमुखहरुले प्रस्तुतिकरण गरिएकाे प्रहरी नायव उपरीक्षक सूचना अधिकारी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । ।
सोही अवसरमा उपस्थित कार्यालय प्रमुख सहित मातहतका इलाका प्रहरी काकार्यालयसँग भर्चुअल माध्यमबाट प्रदेश प्रहरी प्रमुख शर्माले प्रहरीको प्रमुख कार्य अपराध अनुसन्धान, गस्ती व्यबस्थापन, विशेष योजना, ट्राफिक व्यवस्थापन, वार्षिक कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने र चाडपर्व लक्षित सुरक्षा योजना बनाई प्रहरी परिचालन गर्ने लगायतको आवश्यक निर्देशन दिएकाे थियाे ।