काठमाडौं, २७ भदौ ।
नेपाली कांग्रेसले पार्टीबाट २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका स्थानीय तह (गाउँपालिका र नगरपालिका) प्रमुखलाई सम्मान गरेको छ । केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागले केन्द्रीय कार्यालय सानेपामा बिहीबार कार्यक्रम गरी उत्कृष्ट काम गर्नेहरूलाई सम्मान गरेको हो ।
यसै क्रममा रत्ननगर नगरपालिका प्रमुख प्रलाद सापकोटा सम्मानित भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले सापकोटालगायत स्थानीय तह प्रमुखहरुलाई सम्मान गरेका हुन् ।
काँग्रेसबाट निर्वाचित भएका सापकोटाले देशभरमै छोटो समयमा गरेकोे उत्कृष्ट कामको मूल्याङ्कन गरेर सम्मान गरिएको काँग्रेसका केन्द्रीय सदस्य एवं स्थानीय तह समन्वय विभागका संयोजक मधु आचार्यले बताए ।
स्थानीय सरकरको नेतृत्वमा पुगेर पार्टीको गौरव बढाएको भन्दै पार्टी सभापति शेरबहादुर देउवाले सम्मानित हुनेहरुको प्रशंसा गरेका थिए । सभापति देउवाले मुलुकको आवश्यकता अनुसार एमाले–कांग्रेस मिलेर सरकार बनाएको भन्दै अरु पार्टीलाई सिध्याउने नीति कांग्रेसको नभएको बताएका छन्।
महामन्त्री गगनकुमार थापाले आफ्नो जिम्मेवारीमा सफल भएकोमा बधाई दिँदै सम्मानित भएकाहरुलाई थप सशक्त भएर लाग्न आग्रह गरेका थिए । महामन्त्री थापाले उत्कृष्ट काम गर्नेलाई पार्टीले खोजीखोजी जिम्मेवारी दिने बताए ।
नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अभ्यासमा ल्याएको स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनमा आर्थिक वर्ष २०७९/८० गुणस्तर मूल्यांकनमा रत्ननगर नगरपालिका देशभरका स्थानीय तहमध्ये तेस्रो भएको थियो । सोही कारण पार्टीको केन्द्रीय तहको विभागले कार्यक्रम आयोजना गरेर मेयर सापकोटा र नगरपालिकालाई बधाई दिँदै सम्मान गरेको हो ।