कावासोती, २७ भदौ ।
नवलपुरमा जिल्ला हुलाक कार्यालय स्थापना भएको छ । संघीय शासन व्यवस्था शुरु भएको सात वर्षपछि जिल्ला हुलाक कार्यालय नवलपरासी (बर्दघाट सूस्ता पूर्व) कावासोतीमा स्थापना भएको हो ।
अगुवा पत्रकारहरुले जिल्लामा हुलाक कार्यालय स्थापना नहुदा एफएम रेडियोको नवीकरण, रोल्यटीको रकम बुझाउन तथा पत्रपत्रिकाको काम गर्न अर्को जिल्ला जानुपर्ने भन्दै सञ्चार सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई जिल्ला हुलाक कार्यालय स्थापना गर्न आग्रह गरेकोमा त्यसले पूणर्ता पाएको पत्रकार विद्रोही गिरीले बताए ।
पिठौली हुलाक कार्यालयलाई नै जिल्ला हुलाक कार्यालयको रुपान्तरण गरि भदौ तेस्रो सातादेखि कार्यालय स्थापना गरिएको जिल्ला हुलाक कार्यालय कावासोतीमा निमित्त प्रमुख केशबहादुर खण्डलुकले जानकारी दिए । जिल्ला हुलाक कार्यालय परासीबाट भदौ १७ गते सरुवा भई आएका निमित्त प्रमुख खण्डलुकले जिल्ला हुलाकको स्थापना सँगै पालिका स्तरका हुलाक कार्यालयहरु व्यवस्थापनमा जुटेको बताए ।
३० वटा अतिरक्ति हुलाक कार्यालय र केही इलाका हुलाक कार्यालयहरु रहेको नवलपुरमा अब भने पालिका स्तरमा एक जना खरिदारको नेतृत्वमा ४ कर्मचारी सहितका हुलाक कार्यालयहरु रहेका छन् । अतिरिक्त हुलाक कार्यालयहरु भने त्यहाँ रहेका कर्मचारीहरु अवकाश सँगै बन्द हुने भएका छन् । जिल्लामा एक शाखा अधिकृत सहित २६ जना कर्मचारीहरु रहेछन् ।
बुलिङटार, बौदीकाली, गैंडाकोट, देवचुली, मध्यबिन्दु नगरपालिकामा पालिका स्तरका हुलाक कार्यालय सञ्चालनमा समस्या नरहे पनि हुप्सेकोट र विनयी त्रिवेणीमा भने पालिकासँगको समन्वयमा पालिका स्तरका हुलाक कार्यालयहरु स्थापना हुने निमित्त प्रमुख खण्डलुकले बताए । `कार्यालयको व्यवस्थापनसँगै उद्घाटन गर्ने तयारीका साथ काम भइरहेको छ, अहिलेलाई भने पिठौली हुलाकबाटै जिल्ला हुलाक कार्यालयको सेवा दिने काम थालेका छौँ´, उनले भने ।