भरतपुर, २७ भदौ ।
२०६२/०६३ सालको आन्दोलनमा राजधानी काठमाडौंका सडकमा मान्छेको हुलको बिचमा ठुलो झण्डा फहराउँदथ्यो । धेरैका हातमा झण्डा थिए । तिनका बिचमा फहरिएको ठुलो झण्डा बोक्ने व्यक्ति चितवनका चन्द्रकान्त न्यौपाने थिए ।
राजतन्त्रको बिरुद्धमा चितवनका सडकमा आन्दोलन चर्काउँदै न्यौपाने थप आन्दोलनका लागि काठमाडौं पुगेका थिए । त्यति बेला मात्र होइन, २०३६ साल यताका सबै आन्दोलनमा ठूलो झण्डा बोकेर प्रजातन्त्रका लागि उनी अनवरत लागेका थिए । उनका कान्छा छोरा बुद्धिकान्त न्यौपानेका अनुसार २०३६ सालमा बिपी कोइराला क्याम्पाचौरमा आउने कार्यक्रममा तत्कालीन सत्तापक्षले कार्यक्रम बिथोल्न साँढेलाई पेट्रोल छर्किएर छाड्दा साँढेले कुल्चिएर घाइते भएकी चन्द्रकान्तकी आमा हरिमायाको पछि मृत्यु भएको थियो । चन्द्रकान्तले आमालाई समेत कार्यक्रममा लगेका थिए ।
त्यसपछिका दिनहरुमा उनी अनवरतरुपमा नेपाली काँग्रेस र त्यसले सञ्चालन गरेका हरेक आन्दोलनमा अग्रपंक्तिमा देखिन्थे । प्रजातन्त्रका सेनानी न्यौपानेका छोरा बुद्धिकान्तले भने, “मेरो बुबा हरेक आन्दोलनमा दैनिकजसो पक्राउ पर्ने गरेको हामीले बाल्यकालमा देख्यौँ ।” घरमा प्रहरी गएर आमासहित आफूहरुलाई धम्काउने, बुट बजार्ने र यातना दिने गरेको उनी बताउँछन् ।
चन्द्रकान्तका चार छोरा र एक छोरी छन् । छोरा सूर्यकान्तलाई २०४६ सालको जनआन्दोलनमा बाबु लिएर आइज भन्दै १५ दिन हिरासतमा राखेको थियो । २०४२ सालमा लामो समय प्रजातन्त्रका सेनानी न्यौपाने हिरासत बसेका थिए । बुद्धिकान्तले भने, “हामीले थाहा पाएपछिका आन्दोलनमा बुबा कति हिरासत बस्नुभयो भनी गनिसाध्य छैन ।”
आन्दोलनमा अग्रपंक्तिमा हुने भएकाले पक्राउ परेर धेरैपटक साँझ उनी छुट्थे । २०४६ सालको जनआन्दोलनमा उनको टाउको ल्याउनेलाई रु ५० हजार पुरस्कार समेत राखिएको थियो । १९९२ साल पुस २७ गते लमजुङको दुराडाँडाको देउतापानीमा जन्मिएका चन्द्रकान्त न्यौपाने २०६९ साल भदौ २८ गते तत्कालीन सभापति सुशील कोइरालालाई भेट्न काठमाडौं जाँदै गर्दा दुर्घटनामा परेर निधन भएको थियो । माइक्रोबसमा रहेका न्यौपानेले पछाडि सिटमा बस्ने बच्चासहितकी महिलालाई ठाउँ दिएर आफू पछिल्लो सिटमा बसेको अवस्थामा पछाडिबाट ट्रकले ठक्कर दिएर अन्तिम सिटमा बसेका उनको निधन भयो ।
प्रजातन्त्रका सेनानी न्यौपानेको सम्झनामा उनको निवास भरतपुर महानगरपालिका वडा नम्बर ६ देवनगरमा नेपाली काँग्रेस वडा कमीटिले १२ औं स्मृति सभा गरेर शुक्रबार सम्मान गर्दैछ । पार्टीका नेता डा. शशांक कोइरालाको उपस्थितिमा उनको सम्झना गर्न लागिएको हो ।