मकवानपुर, २७ भदौ ।
कर्मचारी सञ्चयकाेषकाे वार्षिकोत्सवमा शाखा कार्यालय हेटौंडाले बिहीबार निःशुल्क स्वास्थ्य शिविर गरेकाे छ । काेषकाे ६३औँ वार्षिकोत्सवकाे उपलक्ष्यमा काेषका सञ्चयकर्तालगायतकाे लागि आयोजना गरिएकाे स्वास्थ्य शिविर कर्मचारी मिलन केन्द्र मकवानपुरकाे समन्वय र सीएमसी चुरेहिल हस्पिटलकाे प्राविधिक सहयाेगमा भएकाे हाे । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले उद्घाटन गरेकाे कार्यक्रममा कर्मचारी मिलन केन्द्र मकवानपुर अध्यक्ष शान्ति विक, काेष हेटौंडा शाखा प्रमुख डा. दिलिपराज पौडेललगायतकाे उपस्थिति रहेकाे थियाे ।
शिविरको उद्घाटन गर्दै श्रेष्ठले निःशुल्क स्वास्थ्य शिविरले कर्मचारीहरूको स्वास्थ्य अवस्थालाई परोक्षरूपमा जाँच गरी स्वस्थ राख्न मद्दत पुर्याउने बताए । ‘कोषको यस प्रकारको पहलले कर्मचारीहरूको सामाजिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्याएको छ’ उनले भने ‘स्वास्थ्य जाँच कार्यक्रमले कर्मचारीहरूको शारीरिक र मानसिक स्वास्थ्यको महत्त्वलाई उजागर गरेको छ, जसले स्वस्थ्य कमर्चारीले, स्वस्थ्य वातावरणमा सेवा प्रवाह गर्न सक्षम हुने छन् ।
कोष हेटौंडा शाखा प्रमुख पौडेलले कर्मचारी सञ्चय कोषले विगत ६२ वर्षदेखि देशको समृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । संस्था आजसम्म आइपुग्दा लाखौँ कर्मचारीहरूको भविष्य सुरक्षित गर्न सफल भएको भन्दै सञ्चयकर्ताहरूलाई आर्थिक सुरक्षा र सामाजिक सुरक्षामा पनि अभूतपूर्व काम गरेका जानकारी दिए । ‘कोषले सञ्चयकर्ता कर्मचारीको बचत र भविष्यको योजना व्यवस्थापन गर्दै उनीहरूलाई आर्थिक मजबुती प्रदान गरेको छ’ उनले भने ‘जसले समाजको समग्र विकासमा समेत योगदान पुर्याउँछ ।’ ‘एक स्वस्थ कर्मचारी नै सक्षम कर्मचारी हो, र सक्षम कर्मचारीले नै आफ्नो काममा उत्कृष्टता देखाउन सक्छ ’ उनले भने ‘निःशुल्क स्वास्थ्य शिविरले कोषको सञ्चयकर्ताहरूलाई अझ स्वस्थ र सक्षम बनाउने उद्देश्य पूरा गरेको छ ।’
शाखा कायर्लय हेटौँडाकी उपप्रबन्धक निमा डोमा शेर्पाले स्वास्थ्य शिविरमा सञ्चयकर्ताहरूले आफ्नो स्वास्थ्य जाँच गराउँदै निःशुल्क परामर्श र अन्य स्वास्थ्यसम्बन्धी सेवाहरू प्राप्त गरेकाे बताइन् । स्वास्थ्य परीक्षण गर्ने क्रममा रक्तचाप, मधुमेह र अन्य सामान्य स्वास्थ्य जाँचका सेवाहरू प्रदान गरिएको उनले जानकारी दिइन् । `कर्मचारी सञ्चय कोषको सामाजिक सुरक्षा र स्वास्थ्य सम्बन्धी सेवा प्रदान गर्ने प्रयासलाई अझै व्यापक बनाउँदै यस प्रकारका कार्यक्रमले कर्मचारीहरूमा सामाजिक सुरक्षाको प्रति सुनिश्चितता प्रदान गरिने देखिन्छ´, उनले भनिन् ।
कर्मचारी मिलन केन्द्रकी कार्यबाहक आध्यक्ष शान्ति बिकले कोषले बार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरेको निशुल्क स्वस्थ्य शिविरले कर्मचारीलाई आफ्नो स्वास्थ्यमा सम्वेदनशील र सचेत हुनुपर्ने बताइन् । `कार्यक्रममा कर्मचारी मिलन केन्द्रले समन्वयकारी भूमिका निर्वाह गर्ने अवसर प्रदान गरेकाेमा कोष परिवारलाई धन्यवाद व्यक्त गर्दछु´ उनले भनिन् ।
स्वास्थ्य शिविरमा जनरल फिजिसियन सेवा, प्रेशर, सुगर, दम, रुघा, खाेकी, पेट, छाती, मुटु, उपचार तथा परामर्श सेवा निःशुल्क जाँच गरिएकाे कर्मचारी संचयकाेष हेटौंडा शाखा प्रमुख डा. दिलिपराज पौडेलले जानकारी दिए । शाखा कार्यालय परिसरमा भएकाे स्वास्थ्य जाँच सीएमसी चुरे हस्पिटलका डाक्टर तथा नर्सलगायतकाे प्राविधिक टोलीले सेवा दिएका हुन् । शिविरमा सामान्य किसिमका रोगकाे औषधी दिइएकाे थियाे भने जटिल रोगकाे लागि हस्पिटल रिफर गरिएकाे छ । शिविरबाट रिफर भएका विरामीकाे लागि अस्पतालले छुट सहितकाे सेवा उपलब्ध गराउने बताइएकाे छ ।
चितवन मेडिकल कलेज (सीएमसी) सञ्चयकाेषकाे स्वास्थ्य उपचार योजना अन्तर्गत सुचिकृत अस्पताल समेत हाे । काेषकाे कार्यालयले ‘सुरक्षित भविश्यकाे लागि निवृत्तभरण तथा सञ्चय काेष’ भन्ने नाराका साथ ३१ भदौमा वार्षिकोत्सव मनाउँदै छ । हेटौंडा शाखाले उक्त दिन प्रभातफेरी कार्यक्रम गरी दिउँसो वार्षिकोत्सव मनाउने शाखा प्रमुख पौडेलले बताए । काेषकाे हेटौंडा कार्यालयले मधेस प्रदेशका धनुषा, महाेत्तरी, बारा र पर्सा तथा बागमती प्रदेशका मकवानपुर, चितवन र सिन्धुलीका सञ्चयकर्तालाई सेवा उपलब्ध गराउँदै आएकाे छ ।