भरतपुर, २७ भदौ ।
अन्तर्वार्ताकार उदय अधिकारीका २ वटा नयाँ पुस्तकहरू बजारमा आउने भएका छन् । `प्रश्नको घेरामा समय´ पुस्तकमा १० महिला सर्जकहरूसँगको अन्तर्वार्ता उल्लेख भएका छन् भने `साकार समय´ मा लेखक शैलेन्द्र साकारसँगका अन्तर्वार्ताहरू समावेश गरिएका छन् ।
मूलतः कविता विधामा योगदान पुर्याएका साहित्यकार साकार एक अन्तर्वार्तामा भन्छन्- `कविता लेख्नु हाइभोल्टेजको नाङ्गो तार समात्नुजस्तै हो ।´ साकारसँगका सवालजवाफहरू पुस्तकमा समावेश भएको अन्तर्वार्ताकार अधिकारी बताउँछन् ।
यसअघि ६ जना प्रसिद्ध लेखकहरूसँगको अन्तर्वार्ता समेटिएको `प्रश्न´ पुस्तकबाट चर्चा कमाएका अधिकारीको गत जेठमा समालोचक, लेखक, राजनैतिक विश्लेषक खगेन्द्र संग्रौलासँगको अन्तर्वार्ता पुस्तक `अविश्रान्त लखरलखर´ पुस्तक सार्वजनिक भएको थियो ।
`प्रश्न´ समकालीन ६ लेखकहरू अभि सुवेदी, नारायण ढकाल, सरूभक्त, श्यामल, श्रवण मुकारूङ र मनु मन्जिलसँग गरिएको अलगअलग अन्तर्वार्ताको सँगालो हो । यस्तै `प्रश्नको घेरामा समय´ मा १० जना आख्यानकार महिलाहरूमध्ये चीरहरण, अर्की आइमाइ, द्रौपदी अवशेषका लेखक तथा योगमाया कृतिका लागि मदन पुरस्कार विजेता नीलम कार्की निहारिका एक हुन् । ‘नथिया’, ‘स्व’ लगायत पुस्तककी लेखक सरस्वती प्रतिक्षासमेत यस पुस्तकमा सवाल थेग्ने अर्की पात्र हुन् । त्यसो त ‘याम्बुनेर’ की लेखक बिना थिङका साथै ‘फिलिङ्गो’ की लेखक प्रभा बराल, ‘सनेस’ की लेखक रेणुका जिसी, ‘सहअस्तित्वको खोजी’ पुस्तककी लेखक अर्चना थापालगायतका लेखकहरूसँगका विविध विषयमा गरिएका अन्तरक्रियाहरू यसमा समावेश छन् । प्रकाशोन्मुख दुवै पुस्तकलाई शिखा बुक्सले दसैँ अगावै बजारमा ल्याउन लागेको हो ।