भरतपुर, २६ भदौ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ चितवन शाखाको भवन बुधबार शिलान्यास गरिएको छ । बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री एवं प्रदेश सभा सदस्य उत्तम जोशीले भवन शिलान्यास गरेका हुन् ।
भवन शिलान्यास समारोहमा बोल्दै पूर्वमन्त्री जोशीले पुस्तकमा सबैको पहुँच पुर्याउन ठाउँठाउँमा पुस्तकालय आवश्यक रहेको बताए । फुर्सदको समयमा पुस्तक पढ्ने बानीले मानव जीवन सफल बन्ने भन्दै उनले यो पुस्तकालय जिल्लाकै नमुना पुस्तकालय बन्नुपर्ने बताए ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष शिवसागर शर्माले चितवन शाखाले गर्न लागेको कामप्रति आभार व्यक्त गरे । पुस्तकालयको सही सदुपयोग हुनेमा उनले विश्वास समेत व्यक्त गरे ।
भरतपुर महानगरपालिका वडा नम्बर ३ बाह्रघरेस्थित देउराली ताल नजिकै भवनको शिलान्यास गरिएको हो । संघका पूर्वअध्यक्ष पंकज अग्रवाल र उनकी आमा कृष्णकुमारी अग्रवालले प्रदान गरेको १० धुर जग्गामा भवन बनाउन लागिएको हो । करिब १ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको सो भवन चार तलाको बन्नेछ ।
भवनमा पुस्तकालय, सभाहलसहित सचिवालय रहने सङ्घका अध्यक्ष परमेश आचार्यले जानकारी दिए । उनका अनुसार भवन आठ महिनाभित्र निर्माण सम्पन्न हुनेछ । आचार्यका अनुसार सङ्घमा जिल्लाका चार सयभन्दा बढी व्यवसायीहरु आबद्ध छन् ।