भरतपुर, २५ भदौ ।
चितवनमा आत्महत्याको घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको विगत ३ वर्षको तथ्यांक अनुुुसार आव २०७८/०७९मा ११४, २०७९/०८० मा २२४ र २०८०/०८१ मा २३२ जनाले आत्महत्या गरेका छन् । जसमध्ये सबैभन्दा बढी २५ वर्ष मुनिका ८८ जना रहेका छन् । तीमध्ये पनि १८ बर्ष मुनिका ३९ जना छन् भने ६० बर्ष माथिका ३१ जना छन् । साउन यता हालसम्म ३२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
गत आवमा आत्महत्या गरेका २३२ जनामा आत्महत्याको कारण खोतल्दा ४२ जना पारिवारिक बेमेल, १८० जना आवेशमा आएर, ८ जना मानसिक तनाव असन्तुलन भएर र २ जना अन्य कारणले भएको देखिन्छ ।
जिल्लामा बढ्दो आत्महत्या रोकथामका लागि मंगलबार आदर्श नारी विकास केन्द्र, आदर्श गृह नेपाल र सामुदायिक सेवा केन्द्र नारायणगढले संयुक्तरुपमा मानसिक स्वास्थ्य प्रवर्धनका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरे । कार्यक्रममा मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न संवाद गर्ने उपयुक्त वातावरण हुनुपर्ने बताइएको थियो ।
बढ्दो आत्महत्या रोकथामका लागि सामाजिक अभियन्ताहरु पनि एक भई अभियान चलाउनुपर्ने जोड दिइयो । मनको बह पोख्ने विश्वासिलो पात्र भए मनको घाउलाई कम गर्न सकिने सहभागीले अनुभव सुनाएका थिए । मानसिक समस्यालाई खुलेर भन्न हिच्किचाउने अवस्थालाई चिरेर खुलेर यस विषयमा बहस गर्नु नै आजको आवश्यकता रहेको कार्यक्रमको निष्कर्ष थियो ।
आयोजक ३ वटै संस्थाका संस्थापक अधिकारकर्मी मीना खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगर वडा नम्बर ३ का अध्यक्ष विकास थापा थिए । उनले आगामी दिनमा अझ बृहत रुपमा मानसिक स्वास्थ्यका कार्यक्रम गर्न वडा तयार रहेको बताए ।
कार्यक्रममा आदर्श नारी विकास केन्द्रकी अध्यक्ष उषा खरेल सुवेदी, आदर्श गृहकी उपाध्यक्ष हेममाया गौतम, मञ्जुश्री असहाय संरक्षण केन्द्रकी सञ्चालक मञ्जु खाँड, आदर्श नारीकी उपाध्यक्ष शीशा राई मानन्धरलगायत ३ वटै संस्थाका पदाधिकारी एवं सदस्य, बाह्रघरे आमा समूह, पुतलीबजार महिला समिति, सनिश्चरे आमा समूहका महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई मनोसामाजिक परामर्शकर्ता पारु पाण्डेले सहजीकरण गरेकी थिइन् । सो अवसरमा जिल्लामा क्रियाशील मनोसामाजिक परामर्शकर्ता निश्चल सापकोटा, प्रतिमा कँडेल, नर्वदा गौडेल, भीमकुमारी जिसी र अञ्जिता देवकोटालाई सम्मान समेत गरिएको थियो ।
‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौ : दृष्टिकोण बदलौँ’ भन्ने नाराका साथ चितवनमा पनि विश्व आत्महत्या रोकथाम दिवस मनाइएको हो ।