मकवानपुर, २५ भदौ ।
मकवानपुरको हेटौंडामा जारी तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा हरिवन भेट्रान्स सर्लाही र निजगढ भेट्रान्स विजयी भएका छन् ।
रोटरी क्लब अफ मकवानपुरको आयोजनामा भएको प्रतियोगिताको मंगलबार भएको पहिलो खेलमा घरेलु टिम हेटौंडा भेट्रान्सलाई ४–० को गोलले पराजित गर्दै हरिवन भेट्रान्स विजयी भएको छ । दोस्रो खेलमा आयोजक रोटरी पिप्ले भेट्रान्सलाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्दै निजगढ भेट्रान्सले विजयी सुरुवात गरेको छ । निर्धारित समय गोलरहित भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । प्रतियोगितामा निजगढ भेट्रान्सका गोल किपर विकास लामा म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत बुधबार दिउँसो २ बजे युनिटी भेट्रान्स वीरगञ्ज र फ्रिडम फाइटर भेट्रान्स काठमाडौंबीच खेल हुनेछ भने दिउँसो ३ः३० बजे अभिषेक चर्च भेट्रान्स नवलपुर र सिमरा भेट्रान्स बाराबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
१५ टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी सर्वोत्कृष्ट प्रशिक्षकले १० हजार, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, सर्वोत्कृष्ट डिफेन्स सर्वोत्कृष्ट मिडफिल्डर तथा सर्वोत्कृष्ट फरवार्डले जनही ५÷५ हजार रुपैंया प्राप्त गर्ने छन् ।
यसअघि सोमबारको उद्घाटन खेलमा चितवन भेट्रान्सले विजयी सुरुवात गरेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडाको नागस्वती भेट्रान्सलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै साविक विजेता चितवन विजयी भएको हो । भदौ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिता जलन प्राथमिक उपचार केन्द्र निर्माण सहयोगार्थ सञ्चालन गरिएको हो ।
सामाजिक एवम् मानवीय सहयोगको साथसाथै खेलकुदमा पनि रोटरी भन्ने नारालाई आत्मसात गर्दै रोटरी क्लब अफ मकवानपुरको आठ वर्षपछि जलन प्राथमिक उपचार केन्द्र निर्माणलाई सहयोगको लागि प्रतियोगीता आयोजना गरेको हो ।
रोटरी क्लब अफ मकवानपुरको आयोजनामा २०७२ सालमा पहिलो पटक राष्ट्रिय र २०७३ सालमा दोस्रो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता भएको थियो । हेटौंडामा पहिलो पटक आयोजना गरिएको ८ ए साईड भेट्रान्स प्रतियोगिताको पहिलो र दोस्रो संस्करण चितवन भेट्रान्स क्लबले हात पारेको थियो ।