भरतपुर, २५ भदौ ।
विश्वभर वार्षिक सात लाख मानिसले आत्महत्या गरेको तीमध्ये अधिकांश घटना मानसिक स्वास्थ्यसँग सम्बन्धित रहेको सरोकारवालाहरुले बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा मंगलबार भरतपुरमा आयोजित एक कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनसँगको सहकार्यमा बागमती प्रदेश, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय हेटौँडाले भरतपुरमा आयोजना गरेको आत्महत्या रिपोर्टिङ सम्बन्धी पत्रकार अभिमुखीकरण कार्यक्रममा मृत्युका कारणमध्ये आत्महत्या पन्ध्रौँ स्थानमा रहेको जानकारी दिइयो । आत्महत्याका सम्भावित कारणमा आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, पारिवारिक र अन्य जोखिम रहेको बताइएको छ ।
विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. अनुपविक्रम बिसीले नेपालमा गत आर्थिक वर्ष २०८०÷८१ मा ७ हजार २ सय २३ जनाले आत्महत्या गरेको बताए । उनका अनुसार यीमध्ये महिला २ हजार ५ सय ७३, पुरुष ३ हजार ७ सय २७, बालक ३ सय ३१ र बालिका ५ सय ९२ जना रहेका छन् ।
स्वास्थ्य निर्देशनालयका अर्जुन पौडेलले आत्महत्या रोकथाम सम्बन्धी सञ्चारकर्मीहरुका लागि मार्गदर्शन २०८० मा आधारित रहेर प्रस्तुति दिएका थिए । उनले समाचार प्रकाशन वा प्रसारण गर्दा उक्त समाचार शीर्षक र सामग्रीले समाजमा पार्ने असरबारे सचेत रहेर सञ्चारकर्मीले काम गर्नुपर्ने बताए ।
कार्यक्रममा मनोचिकित्सक डा. प्रज्ज्वल श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी निरीक्षक लक्ष्मण केसी, पत्रकारहरु ईश्वरकुमार जोशी, सूर्यप्रकाश कँडेल, रमेशकुमार पौडेल, सूर्यप्रसाद अधिकारी, शान्ता अधिकारीलगायतले आत्महत्याका समाचारबारे आआफ्ना धारणा राखेका थिए ।