भरतपुर, २४ भदौ ।
एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरले चितवनमै पहिलोपटक कुहिनाको जोर्नी प्रत्यारोपण गरेको छ । भरतपुर–१० का ५६ वर्षीय रामसुन्दर जोशीको बायाँ हातको कुहिनोको जोर्नी प्रत्यारोपण गरिएको हो । विगत ५० वर्षदेखि देखिएको समस्या बल्ल समाधान भएको बिरामीको भनाइ उधृत गर्दै अस्पतालका प्रमुख एवम् वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा प्रमोद लामिछानेले बताए ।
डा.लामिछाने, अस्पतालका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा अनिल भट्टराईसहितको टोलीले जोर्नी प्रत्यारोपण गरेको सोमबार अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
विगत १३ वर्षदेखि हाडजोर्नीको उपचारलाई केन्द्रमा राखेर सञ्चालनमा आएको अस्पतालले हालसम्म गरेको जोर्नी प्रत्यारोपणको अनुभवको आधारमा कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको डा भट्टराईले जानकारी दिए । उनका अनुसार कुहिनाको जोर्नी प्रत्यारोपण गर्नुपर्ने बिरामीको सङ्ख्या ज्यादै न्युन हुन्छ ।
त्यसकारण पनि नेपालमा यसको उपचार सबै ठाउँमा सम्भव नभएको हो । तर, एलाइभले आगामी दिनमा यस्तै खालको समस्या समाधान गर्न सकिने उनले बताए । ‘घुँडा र कम्मरको जोर्नी प्रत्यारोपणको तुलनामा कुहिनाको जोर्नी प्रत्यारोपण गर्नुपर्ने बिरामी कम छन् । तर, अबदेखि हामी कुहिनाको जोर्नी प्रत्यारोपण पनि गर्न सक्छौँ,’ उनले भने ।
बिरामी रामसुन्दर जोशीले उपचार हुँदैन भनेर बसेको समस्या पनि समाधान भएको बताए । ‘मैले अहिलेसम्म छोटो कपडा लगाएको थिएन । जोर्नी प्रत्यारोपणपछि पहिलोपटक छोटो कपडा लगाएँ,’ पत्रकार सम्मेलनमा हाफ बाउला भएको टिसर्ट लगाएर आएका उनले भने, ‘अबको दैनिकी थप सहज हुने अपेक्षा गरेको छु ।’
उनका अनुसार पाँच, छ वर्षको उमेरमै कुहिनामा चोट लागेको थियो । करिब ५० वर्षपछि बल्ल सही उपचार पाएको उनले बताए ।