म पनि त चितवनबासी नै हुँ नि !
चिततवन बासी हुँ म पनि । बेलाबेलामा राम्रा नराम्रा दुबै कुराले चर्चामा आउने गर्छ मेरो चितवन । नेपालको मध्यभाग पर्ने भएर हो कि चितवनको पहिचान छुट्टै छ । यही बाटो भएर दिनहुँ हजारौँ पूर्व र पश्चिम नेपालका नागरिकहरु राजधानी काठमाडौँतर्फ यात्रा गर्छन् । तीमध्ये कतिका पाइलाले चितवनको माटोमा टेकेका पनि हुँदैनन् । कतिपयले रातको समयमा मात्र चितवनलाई देख्ने गर्छन् । त्यसैले चितवनलाई सबैले चिनेका छन् भन्नु भ्रम हो भन्ने ठहर छ मेरो ।
त्यसो त म चितवनमा जन्मेको होइन, तर मेरो नागरिकता चितवनबाटै बनेको हो । यो अस्थायी जिन्दगीमा म चितवनको स्थायी बासिन्दा हुँ । बाल्यकालमा चितवन बसाइँ सरेपछि आजका मितिसम्म यहीँ बसोबास गर्छु म । जिन्दगीका आधा शतक बितिसकेको छ यो चितवनमा । यसका राम्रा नराम्र दुबै कुराले छोइन्छु म । एउटा चितवनबासी भएपछि यति त हुनै पर्यो नि, हैन र ?
उतिबेलाको चितवनको साहित्यिक माहोल
मैले पञ्चायतकालको उत्कर्षका बेला विश्वप्रकाश मा.वि.बाट एस्.एल्.सी. दिएको हुँ वि.सं. २०४५ सालमा । त्यसपछि मात्र खुलेर लागेको हुँ म साहित्यमा । त्यतिबेला चितवनमा साहित्य सङ्गम चितवन र चितवन साहित्य परिषद् नाम गरेका दुईवटा मात्र साहित्यिक संस्था थिए । तिनले पनि वर्षमा एक दुईवटा मात्र कार्यक्रम गर्थे । तीबाहेक रेडक्रस, जेसिसलगायत केही पुस्तकालयहरुले पनि आक्कलझुक्कल साहित्यिक कार्यक्रमहरु गर्थे । तिनमा प्रायः गइन्थ्यो सहभागी भएर । केहीमा प्रतियोगिता हुन्थे भने केहीमा वाचन मात्र । ती कार्यक्रमको कम्ता महत्व थिएन त्यतिबेला ।
बहुदल आएपछि सङ्गम र परिषद्मा राजनीतिक पानी बाराबारको स्थिति आयो । यताका उता र उताका यता आउने जाने गर्दैनथे त्योबेला । मेरो हकमा भने राजनीतिभन्दा पनि साहित्य महत्वपूर्ण भएकाले दुबैतिरको यात्रा उस्तै थियो । त्यो आजपर्यन्त छ । कवि बाशु शशीको एउटा कविता छ, ‘पर्खाल लगाएपछि धेरै कुरा बाहिर पर्छ’ । मैले आफूलाई पर्खालभित्र कैद गर्न नचाहने प्राणीका रुपमा विकसित गर्दैै आएको हुँ । यो विचारबाट पछि हटेको छैन अझै । त्यतिबेला महिलाको उपस्थिति निकै कम हुने गर्थ्यो । त्यो भीडमा कहिल्यै नदेखिएका प्रतिभा हो, भगवती बस्नेत ।
यतिबेलाको चितवनको साहित्यिक माहोल
यतिबेला चितवनमा साहित्यिक कार्यक्रम बाक्लै हुने गरेको छ । विभिन्न खालका प्रतियोगिता, अन्तक्र्रिया, रचनावाचन आदिले हरेक शनिबार कतै न कतै माहोल तताइरहेका पाइन्छ । त्यस्ता कार्यक्रम विधाकेन्द्री पनि हुने गरेका छन् । यसले समग्र नेपाली साहित्यको श्रीबृद्धिमा सहयोग नै पुगेको छ भन्ने ठान्छु म ।
जति धेरै संस्था उति धेरै कार्यक्रम । जति धेरै कार्यक्रम उति धेरै विचार । जति धेरै विचार उति धेरै पृथकता । जति धेरै पृथकता उति धेरै असहजता । हो, यस्तै छ, आजको चितवन । यतिबेला आफ्नो समूह वा गुटका कार्यक्रममा जसरी पनि जाने र अरुको कार्यक्रममा नजानेको सङ्ख्या मनग्गे बढ्दो छ । त्यसो त हरेक हप्ता कार्यक्रममा जान सक्ने स्थिति पनि त हुँदैन कतिलाई । समय मिल्ने पनि भूमिका नभएकाहरु कमै जान थालेको पाइन्छ । आजका यस्ता विविध कार्यक्रममा पनि कहिल्यै भेट नभएको स्रष्टा हो, भगवती बस्नेत ।
को हुन् त भगवती बस्तेत ?
उमेरले मेरो समवयी रहिछिन् भगवती बस्नेत । उनी वि.सं. २०२९ माघ १७ गते चितवनको झुवानीमा पिता रामबहादुर बस्नेत र माता रुक्मकुमारी बस्नेतबाट जन्मिएकी हुन् । सम्पूर्ण किताब नारायणगढमा हालसालै भएको एउटा भेटमा उनी झुवानी मा.वि.का तत्कालीन घगडान गुरुहरु धनराज गिरी, भानुप्रसाद उपाध्याय र पोस्तक श्रेष्ठकी चेली भएको सम्झना गर्छिन् । ती त भए अतीतका कुरा । आजको कुरा गर्नुपर्दा उनले त्रिभुवन विश्वविद्यालायबाट नेपाली साहित्यमा स्नातकोत्तर तह उत्तीर्ण गरेकी छिन् । उनी लगभग आधा दर्जन कृतिका स्रष्टा हुन् । तर पनि उनी नेपाली साहित्यमा क्रियाशील स्रष्टा भएको कुरा चितवनको भूगोलले किन थाहा नपाएको हो कुन्नि ?
नेपाली साहित्यका अथक स्रष्टा भगवती बस्नेतका हालसम्म ‘रहर भो जिन्दगी’ (गजलसङ्ग्रह, २०६८), ‘प्रेमदह’ (मुक्तकसङ्ग्रह, २०७१), ‘मर्दको माया’ (कथासङ्ग्रह, २०७२), ‘मृत सागरमा म’ (कवितासङ्ग्रह, २०७३) र ‘विश्वम्भरा’ (कवितासङ्ग्रह, २०७९) गरी विविध विधाका पाँचवटा एकल कृति प्रकाशित भइसकेका रहेछन् । कतिपय स्रष्टाका एउटा कृति निस्कँदा पनि पर्याप्त हल्ला हुने चितवनमा उनको चर्चा कतै छैन । पाँचपाँचवटा साहित्यिक कृति प्रकाशित हुँदा पनि भगवतीलाई चितवनले नचिनेकोमा ताज्जुब लाग्छ मलाई ।
चितवनले नचिने पनि भगवती बस्नेतलाई देशभित्र र बाहिरबाट विभिन्न सम्मान र पुरस्कार मिलेको रहेछ । त्यस्ता सम्मान र पुरस्कारमा पत्थर गजल साधना पुरस्कार (२०६८), विश्वनारी नेपाली साहित्य स्वर्णपदक (२०७१), भानुभक्त काव्य पुरस्कार (नेपाल सरकार, २०७२), भानुभक्त स्वर्णपदक (नेपाल सरकार, २०७२), अनेसास भानुवर्ष उत्कृष्ट लेखक (२०७२), नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार (२०७४), भद्र घले पुरस्कार (२०७७), सत्यमोहन जोशी शताब्दी पदक (२०७७) र नइ रजत महोत्सव पदक (२०७८) जस्ता विभिन्न पदक तथा पुरस्कार प्राप्त गरिसकेकी रहिछन् । यसले भगवतीको सिर्जनात्मक सफलता र परिचयको व्यापकतालाई देखाउँछ । के यति पर्याप्त छैन र उनलाई चिनाउन ?
भगवतीका कवितामा आत्मबोध
कवि भगवती बस्नेत मूलतः शास्त्रीय छन्दमा कविता लेख्न रुचाउने कवि हुन् । उनको हालसालै विश्वम्भरा नामको कविताकृति बजारमा आएको छ । नइ प्रकाशनले प्रकाशित गरेको यो कृतिमा एकाउन्नवटा कविता छन् । तिनमा करिब डेढ दर्जन जति छन्दको प्रयोग भएको छ । ती कविता विविध भावको प्रयोग भएको पाइन्छ । उनी आध्यात्मिक चेत भएकी कवि भएकाले तिनमा आत्मबोध बढी भएको पाइन्छ ।
कवि भगवती बस्नेतलाई आफू कवि भएकोमा खुसी लागेको छ । सुन्दर कविता सुन्दर मनले मात्र सिर्जना गर्न सक्छ भन्ने भावना राख्ने उनी आफ्ना कवितामा आफू सर्जक भएको आत्मबोध यसरी गर्छिन् :
कवि क्रिया कमाएर कविता कान्त कोर्दछु
सुरम्य कविता सिक्न मन मेरो सिँगार्दछु ।
(म र कविता, पृ. ५१)
कवि भगवतीले आफ्ना कवितामा आफू नारी हुनुमा पनि उत्तिकै गौरव गरेकी छिन् । उनले नारीको महिमा गाउँदै आफ्नो कवितामा आत्मबोध यसरी गरेकी छिन् :
नारीको गरिमा बढाउन सकूँ संसार होस् सुन्दर
नारीको महिमा चिनौँ हृदयले नारी भनौँ मन्दिर
नारीको उपमा दिऔँ पृथ्वी हुन् भन्दै गरी आदर
नारीको सुषमा अमोल छ भनी मान्छन् स्वयम् ईश्वर ।
(प्रेमको आँगनी, पृ. ३९)
नारी हुनु भनेको आमा हुनु हो, छोरी हुनु हो । कतिपय ठाउँमा सखी र प्रेमिका हुनु पनि हो । कतिपय पुरुषले सखीको महत्व बुझ्दैनन् । यसरी सखीको महत्ता नबुझ्ने पुरुषलाई उनी यसरी सम्झाउँछिन् :
सखी हुँ म तिम्री तिमीले चिनेनौ
सही स्नेहलाई पियारा बुझेनौ
सजाएर माया मलाई दिएनौ
सदा भावना भन्छु केही सुनेनौ ।
(सखी, पृ. ८९)
यो समाजमा नारी र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन् भन्ने भनाइ धेरै पहिलेदेखि नै चलिआएको पाइन्छ । नारीबिना पुरुषको र पुरुषबिना नारीको अस्तित्व अपूर्ण हुन्छ भन्ने मान्यता कवि भगवतीमा पनि पाइन्छ । त्यसैले उनी आजका नारीवादी कविजस्ती लाग्दिनन् । हेरौँ एउटा कवितांश :
तिमी धूप बन्नू म बाती हुने छु
तिमी वेद बन्नू म गीता हुने छु
चमेली तिमी हौ म बेली हुने छु
हवेली तिमी हौ म सहेली हुने छु ।
(तिमी र म, पृ. ९२)
कवि भगवती बस्नेतका कविताका भावहरु विविध छन् । उनी पद्यरचनाअन्तर्गत कवितामा मात्र गजल र मुक्तकमा पनि आफ्ना भावना पोख्ने गर्छिन् । ती समग्र रचनामा उनी आत्मबोधबाट प्रेरित छिन् । यसले उनको पहिचान अझ माथि पुर्याएको छ । यो यात्रा निरन्तर अगाडि बढोस् ।
भगवतीलाई एक दिन अवश्य चिन्छ चितवनले
यो सूचना र प्रविधिको जमाना हो । त्यति मात्र नभएर विज्ञापनको जमाना पनि हो । यति हुँदाहुँदै पनि सम्पर्क र साथले काम गरिरहेकै हुन्छ जहाँ पनि । कहिल्यै नभेटेका मान्छेका बारेमा कसलाई थाहा हुन्छ र ? त्यस्तै पढ्दै नपढेका स्रष्टाका बारेमा पाठक र समीक्षकको ध्यान नजानु कुनै ठूलो कुरा हो जस्तो लाग्दैन मलाई ।
चितवनसँगको सम्पर्क सूत्रबाट टाढा भएर होला भगवती बस्नेत आजसम्म पनि चितवनमा अपरिचित रहेकी । उनी चितवनको साहित्यिक माहोलमा कहिल्यै देखा नपरेकी हुँदा हामी समीक्षामा काम गरिरहेका आफूलाई समीक्षक ठानिटोपल्ने केही लघुमानवहरुले पनि चिन्न सकेनछौँ । यो हाम्रो कमजोरी हो । उनको लेखनी निरन्तर क्रियाशील रहेछ । यो क्रियाशीलता अझ तन्मयताका साथ अगाडि बढोस् । उनका नयाँ नयाँ कृतिहरु पढ्न पाइयून् । कर्ममा लीन भएपछि एक न एक दिन उनलाई चितवनले चिन्न करै लाग्छ । उनको सिर्जनशील भविष्य र काव्यिक उन्नयनको शुभकामनासहित कलम रोक्छु । भबतु सब्ब मङ्गलम् ।