मकवानपुर, २१ भदौ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका- ११ थानाभर्याङमा म्याजिक भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।
शुक्रबार अपरान्ह पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत थानाभर्याङ राप्तीपुल नजिकै नवलपुरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना १५ प ४१५७ नम्बरको मोटरसाइकललाई हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ज ०२५७ नम्बरको म्याजिकले ठक्कर दिएको थियो ।
म्याजिकको ठक्करबाट मोटरसाइकल चालक हेटौँडा – ११ थानाभर्याङ बस्ने २६ वर्षीय श्रीराम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । म्याजिकको ठक्करबाट टाउको र खुट्टामा चोट लागी गम्भिर घाईते भएका श्रीरामको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिएको उक्त म्याजिक ना १ ज ८१३१ नम्बरको अर्को म्याजिकमा समेत ठोक्किएको प्रहरीले जनाएको छ । उक्त घटनामा अन्य सबै सकुशल रहेको र ठक्कर दिने म्याजिक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।