विविध भाषा संस्कृति अनेक जाति छन् अनन्त
चाड र पर्व नेपाली जनलाई पार्दछन् जीवन्त
तृतीया तिथि मासमा भाद्र तीज यो आउने
सुख र दुःख वेदना सब यसैमा गाउने । १।
उत्रिन्छ चित्र समाज सबको तीजका भाकामा
नारीजन सबका सुख र दुःख गुन्जिन्छ पाखामा
दिदी र बहिनी दाजु र भाइ एकसाथ जुट्दछन्
आँसु र हाँसो यी सब बाँड्दा सिर्जना फुट्दछन् ।२।
पार्वती शिव एकसाथ जुटे प्रणय सूत्रमा
आत्मिक प्रेम दृष्टान्त बन्यो क्रमशः जनमा
दम्भ र द्वेष कलह झगडा यी सब त्यागेर
पति र पत्नी आनन्दी जीवन जिउँछन् मिलेर ।३।
उघारी पर्दा विकृति सबको छर्लङ्ग पार्दछन्
अन्धकार हरी चेतना भरी उज्यालो छर्दछन्
अधिकार हक बुझाई सबलाई सचेत बनाउने
निमुखा गरिब अबला जनलाई यसले जगाउने ।४।
सफल सुखी गृहस्थ जीवन आपसी मेलमा
विश्वास भाव जागृत गरौँ यो सबका मनमा
आदर प्रेम सद्भाव बढाई मिलेर बसौँ न
संस्कृति सुन्दर बनाई सदा बचाई राखौँ न ।५।
विकृति साथ आएमा तीज संस्कृति नासिन्छ
श्रद्धाका साथ मान्दा नै पर्व सबजन बाँचिन्छ
सद्भाव प्रेम आपसी जनमा राखेर मनाऔँ
पवित्र मनले उमङ्गित तनले संस्कृति बचाऔँ ।६।