मकवानपुर, २१ भदौ ।
हरितालिका तिजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेकाे बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले बताएका छन् । नेपाली महिलाको महान् पर्व हरितालिका तिज २०८१ को पावन अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्ताे बताएका हुन् ।
‘तीजकाे अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा पारिवारिक सुख, शान्ति र समृद्धिकाे शुभकामना व्यक्त गर्दछु’ उनले सन्देशमा भनेका छन् । हरितालिका तिजलाई नेपाली महिलाले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएका छन् । ‘भाद्र शुक्लपक्ष तृतीया तिथीका दिन पर्ने यस पर्वको अवसरमा सम्पूर्ण दीदी, बहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दछु’ प्रदेश प्रमुख देवकाेटाले भनेका छन् ‘यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बिचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याइरहेका छन् ।’
उनले शुभकामना सन्देशमा भनेका छन् ‘हरितालिका तिजले सम्पूर्ण नेपाली महिलाहरुलाई समाजमा विद्यमान लैंगिक विभेद, जातीय विभेदलगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु । मौलिक संस्कृति र परम्पराहरूलाई संरक्षण तथा प्रवर्द्धन गर्ने गरी यो चाड मनाउनु हुनेछ भन्ने आशा गर्दछु ।’