भरतपुर, २० भदौ ।
सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिको टिमले भरतपुर–११ स्थित सानो घर र भरतपुर–३ मा रहेको मानव सेवा आश्रममा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार सेन्ट्रल टिमले सानो घर र मानव सेवा आश्रममा आश्रित अशक्त, बेसहारा, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर वृद्धवृद्धाहरुलाई दर खुवाएको हो ।
तीजको अवसरमा आश्रममा आश्रित आमा, बुवालाई दर खुवाइएको कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी) ले जानकारी दिए । उक्त कार्यक्रमका लागि हाल अष्ट्रेलियामा रहेकी सेन्ट्रल टिमकी सदस्य बन्दना न्यौपानेले पनि सहयोग गरेकी उनले बताए । सो अवसरमा मानव सेवा आश्रमकी केन्द्रीय सदस्य एवं चितवन जिल्ला संयोजक नीता केसीले सेन्ट्रल टिमले मानवीय सेवामा साथ सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरिन् । आश्रममा हाल ७० जना वृद्धवृद्धा रहेका छन् ।
यसअघि सेन्ट्रल टिमले भरतपुर–११ स्थित सानो घरमा पनि दर खुवाउने कार्यक्रम सम्पन्न गरेको थियो । सेन्ट्रल टिमले सानो घरमै पुगेर त्यहाँ आश्रित बालबालिकाहरुलाई दर खुवाएको हो । दर खुवाउने कार्यक्रमसँगै सानो घरको भवन निर्माणका लागि पनि सेन्ट्रल टिमले सहयोग गरेको छ । हाल अष्ट्रेलियामा रहेकी सेन्ट्रल टिमकी सदस्य बन्दना न्यौपानेले यसका लागि पनि सहयोग गरेकी थिइन् ।
सानो घरकी सञ्चालक विमला श्रेष्ठले साथ र सहयोगका लागि सेन्ट्रल टिमलाई धन्यवाद व्यक्त गरिन् । यस्ता सहयोगले सानो घरको भावी योजनालाई कार्यान्वयन गर्न मद्दत मिल्ने श्रेष्ठको भनाइ थियो । सानो घरमा १९ जना बालबालिका आश्रित छन् ।
कलेजका प्रिन्सिपल पौडेलले कलेजले सधैं सामाजिक उत्तरदायित्व वहन गर्दै आएको बताए । घरघरमा तीज मनाइरहँदा आश्रममा आश्रितहरुसँग सेन्ट्रल टिमले दर खुवाएर तीज मनाएको उनको भनाइ थियो । पौडेलले सेन्ट्रल कलेजले सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।
कलेजको आफ्नो व्यवसायबाट हुने नाफाको ३३ प्रतिशत खेलकुद तथा विभिन्न सामाजिक क्षेत्रमा खर्च गर्दै आएको उनले बताए । कार्यक्रममा पौडेलसँगै कलेजकी सिईओ शारदा शर्मा, भाइस प्रिन्सिपल ऋृषिराम भण्डारी, म्यानेजर पार्वती न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।