भरतपुर, १९ भदौ ।
कविडाँडा साहित्य समाज चितवनले `कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८०´ कृष्ण गौतमको उपन्यास अद्वैतलाई प्रदान गर्नेभएको छ ।
गत साउन २१ गते १० वटा किताबको सूची सार्वजनिक गरेको समाजले उक्त सूचीलाई अद्यावधिक गर्दै भदौ ३ गते उत्कृष्ट ५ को सूची सार्वजनिक गरेको थियो । बुधबार बिहान समाजका अध्यक्ष एलबी क्षेत्रीले फेसबुकबाट सार्वजनिक गरेको सूचनामार्फत कृष्ण गौतमको अद्वैत उपन्यासलाई २०८० सालको राष्ट्रिय आख्यान पुरस्कार दिइने निर्णय गरिएको उल्लेख छ ।
समाजले सार्वजनिक गरेको उत्कृष्ट ५ को सूचीमा गौतमको अद्वैतसहित सानु शर्माको कथासङ्ग्रह `अर्को देशमा´, गोविन्दप्रसाद कुसुमको उपन्यास `भृकुटी´, विश्व कुइँकेलको उपन्यास `गोपिचा´ र रोशन थापा निरवको उपन्यास `सन्त्रासका ६० दिन´ रहेका थिए भने उत्कृष्ट १० मा यीसहित विष्णु सापकोटाको उपन्यास `अडिएका पाइला´, रमेश सायनको उपन्यास `अन्तर´, जीवन जीवन्तको उपन्यास `चरैवेति´, भक्त स्याङ्तानको कथासङ्ग्रह `डम्फुको आत्मालाप´ र खेम बतासको कथासङ्ग्रह `बुढीपोल्ली´ सूचीकृत थिए ।
कविडाँडा साहित्य समाजले प्रत्येक वर्ष प्रकाशित नेपाली आख्यान कृतिहरू मध्येबाट एक कृतिलाई कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार अर्पण गर्दै आइरहेको छ ।
बिज्ञप्तिमा भनिएको छ – `यस उपन्यासले अनेक मत र विश्वासहरूमा विभक्त मानव समाज क्रमिकरुपले बिग्रहतिर उन्मुख हुँदै गएको आजको सन्दर्भमा मानवताको सार मुलतः एक रहेको र विश्वास, मत र पन्थहरूको पनि मूल एक रहेको तर्क गर्दै मानव समाजमा समभाव, परानुभूति र ऐक्य स्थापना गर्ने सार्थक प्रयास गरेको छ र यस प्रयासलाई अति परिस्कृत र वोधगम्य भाषा र ढाँचामा प्रस्तुत गरेको छ । कृतिले पूर्वीय सभ्यताले प्रतिपादन गरेको अद्वैत सिद्धान्तलाई विभाजित विश्वलाई जोड्ने कडीको रूपमा पनि पहिचान गरेको छ ।´
पुरस्कृत आख्यानलाई आगामी तिहार लगत्तै चितवनमा कार्यक्रम आयोजना गरी सम्मान गरिने अध्यक्ष एलबी क्षेत्रीले बताएका छन् । पुरस्कारको राशि १ लाख २५ हजार रुपैयाँ र कदरपत्र रहेको छ ।
२०७५ सालबाट दिन थालिएको यो पुरस्कार पहिलोपटक महेश थापाको `मरिचिका´ कथासङ्ग्रहलाई दिइएको थियो । त्यसपछि २०७६ सालमा श्याम शाहको `पथेर´ कथासङ्ग्रह, २०७७ सालमा भुवन ढुंगानाको `परित्यक्ता´ उपन्यास, २०७८ सालमा लोकराज भट्टको `छाइल´ उपन्यास र २०७९ सालमा देवीप्रसाद सुवेदीको `मनु´ उपन्यासले प्राप्त गरेका थिए ।