मकवानपुर, १७ भदौ ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले कृषि प्रविधिको विकास आजकाे आवश्यकता भएकाे बताएका छन् । बी.पी. चिन्तन प्रतिष्ठान मकवानपुरले शनिबार आयोजना गरेको “नेपालमा कृषि क्रान्तिः सम्भावना र चुनौती” विषयक विचार गोष्ठीलाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हामी एक्काइसौ शताब्दीमा सूचना, प्रविधि र नवीनतम विकासमा लाग्छौं’ देवकाेटाले भने ‘ती विकासलाई “कृषि प्रविधि” केन्द्रीत गर्नु पर्ने आजको आवश्यकता हो ।’ नेपालमा कुल घर परिवार संङ्ख्याको ६२ प्रतिशत कृषिमा आश्रित छन् । कुल जनसङ्ख्याको ६७ प्रतिशत कृषिमै निर्भर रहेको नेपाल जस्तो मुलुकमा कृषि क्षेत्रको विकास सबैभन्दा उत्तम विकल्प भएकाे उनले बताए ।
उनले बी.पी. कोइराला र पुष्पलाल श्रेष्ठजस्ता व्यक्तित्वहरुमा कृषिप्रतिको आमूल परिवर्तनको सोच रहेकाे बताए । ‘समयको त्यो आयाममा वास्तविक किसानलाई जग्गा, किसानका हक अधिकारको बारेमा यथेष्ठ आवाज उठेको थियो’ उनले भने ‘उहाँहरु कृषि क्रान्तिका अग्रणी हुनुहुन्थ्यो । नेपाल कृषिप्रधान मुलुक भएको हुदाँ यस क्षेत्रको विकासको विकल्प छैन।’
‘जग्गा खण्डीकरण र वास्तविक किसानभन्दा इतर व्यक्तिले जग्गाको स्वामित्व लिंदा कृषिमा अपेक्षित सुधार देखिदैन’ उनले भने । राज्यले बीउ, बिजन, मलखाद, बजारका क्षेत्रमा यथेष्ट सहयोग नगर्दा उत्पादनमा कमी आएकाे उनले बताए ।
उनले चुनौतीहरुका बावजूद नवीनतम प्रविधिको अधिक प्रयोगले कृषि उत्पादनमा वृद्धी गर्न सकिने जानकारी दिए । ‘कृषिका धरै सम्भावना छन् । डोल्पाको माटोे होस वा मनाङको, माटो र बालीको अध्ययन गरी कुन बालीनाली उपयुक्त हुन्छ त्यो लगाउनु पर्छ’ उनले भने ‘प्रविधिको विकासमा केन्द्रित हुन सकेमा उपलब्धी हासिल गर्न सकिन्छ । खेर गएका हरेक डाँडाकाँडा कृषिले भरिभराउ हुनसक्छन् ।’
‘नेपालमा पनि कृषिक्षेत्रलाई प्रविधिमैत्री बनाउन सकियो भने रोजगारीको खोजिमा भौतारिदै विदेशीने युवाहरुलाई स्वदेशमा कृषि उद्यममा लगाउन सकिन्छ’ उनले भने ‘कृषिक्षेत्रको दक्ष जनशक्ति त नेपाल जस्तो कृषि प्रधान देशको लागि गहना हुन् । दक्षता र क्षमताको कदर पनि आवश्यक छ ।’
प्रतिष्ठान अध्यक्ष विष्णुप्रसाद लामिछानेकाे सभाध्यक्षता तथा प्रदेश प्रमुख देवकाेटाकाे प्रमुख आतिथ्यतामा भएकाे गोष्ठीमा विपि चिन्तन प्रतिष्ठानका स-अध्यक्ष पुष्पराज पराजुली, नेपाली काङ्ग्रेस जिल्ला सभापति बुद्ध लामा, प्रतिष्ठानका उपाध्यक्ष जयराम लामिछाने, काँग्रेस मकवानपुर पूर्व सभापति रघुरमण न्याैपाने, कृषि कार्यालय चितवनको प्रमुख झलक कंडेल, प्रतिष्ठानका केन्द्रीय सदस्य देवीप्रसाद आचार्यलगायतकाे उपस्थिति थियाे ।