गैंडाकोट, १७ भदौ ।
रेडियो संकेत ९३ मेगाहर्जले शनिबार आयोजना गरेको ‘बृहद खुल्ला तीज गीत प्रतियोगिता २०८१’ मा गैंडाकोट बोर्डिङ स्कूल प्रथम भएको छ । प्रतियोगितामा वडा नम्बर २ मा रहेको शिलान्यास टोल महिला समूह द्वितीय भएको छ । सरस्वती बोर्डिङ स्कुल तृतीय र प्रगति टोल महिला विकास समूहले प्रोत्साहन पुरस्कार जितेका छन् ।
४० टीमले सहभागिता जनाएको खुल्ला तीज गीत प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत राखिएको थियो । प्रख्यात भजन गायक एवं योगा प्रशिक्षक हिरालाल कँडेल, लोकगायक सुरज भण्डारी र शिक्षाविद रञ्जना लामिछानेको निर्णायक मण्डल रहेको प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः रू १५ हजार, रू १० हजार र रु ५ हजार नगद र प्रमाण प्रदान गरिएको प्रतियोगितामा प्रोत्साहन पुरस्कार स्वरूप रू ३ हजार एक समूहलाई प्रदान गरिएको थियो ।
होटल द नारायणी रिसोर्टमा आयोजित प्रतियोगितात्मक समारोहमा गैंडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइराला, सञ्चालक समिति अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, कार्यक्रम संयोजक सुजन अधिकारी र अन्य अतिथिहरूले पुरस्कार वितरण गरेका थिए । समारोहमा उपमेयर शान्ति कोइरालाले प्रमुख अतिथिको मन्तव्य दिँदै रेडियो संकेतले प्रतियोगितात्मक कार्यक्रमलाई निरन्तरता दिएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै संस्कृति बचाउन रेडियो संकेत ९३ मेगाहर्जको भूमिका अत्यन्तै सम्मानयोग्य भएको भन्दै बधाई दिइन् ।
उनले आफ्नो मन्तव्यमा एक डेढ महिनाअघिदेखि नै महङ्गा होटल तथा रेष्टुराँमा गएर तीजका नाममा भोज (दर) खाने प्रबृत्तिले अनावश्यक खर्च बढ्दै गएको र महिलाहरूमा सिर्जनशीलता र धर्म संस्कृतिहरूप्रति मोह घट्दै गएकोमा चिन्ता व्यक्त गरिन् ।
समारोहमा रेडियोका पूर्व अध्यक्ष एवं समाजसेवी षडानन्द लामिछाने, वेदप्रसाद गौडेल, यज्ञविलास पौडेल, कृष्ण कँडेल, विष्णु पन्थी, शारदा ढकाल, सिर्जना पौडेललगायतका अतिथिहरूले आफ्नो मन्तव्यमा तडकभडक नगरी मौलिक रूपमा तीज मनाउन आग्रह गरे ।
रेडियो संकेत ९३ मेगाहर्जले २०७४ सालदेखि प्रत्येक वर्ष तीज पर्वका अवसरमा बृहत तीज गीत प्रतियोगिताको आयोजना गर्दै आएको र संस्कृति जोगर्ना गर्नका लागि थप कार्यक्रमहरू समाजमाझ ल्याउने रेडियोका स्टेसन म्यानेजर सुजन अधिकारीले जानकारी दिए । प्रतियोगितात्मक कार्यक्रमको सहजीकरण सञ्चारकर्मी राजेन्द्र पौडेल र सुरज पौडेलले गरेका थिए।