भरतपुर, १६ भदौ ।
गजलकार ठानप्रसाद बसौलाको गजलसङ्ग्रह `रहर अनेक अनेक´ विमोचन भएको छ ।
गजल मञ्च चितवनले १५९ औँ मोती जयन्तीको अवसर पारेर श्री चितवन मावि भरतपुरमा आयोजना गरेको खुला गजलवाचन कार्यक्रममा प्रमुख अतिथि केशवराज आमोदी, सम्पादक बालकृष्ण थपलिया, त्रिपुरासुन्दरी गाउँपालिका धादिङका अध्यक्ष राजु उप्रेती, गजल मञ्च चितवनका पूर्व अध्यक्ष किसान प्रेमी, रमेश प्रभात, प्रमिला सानु र लेखराम सापकोटाले कृति विमोचन गरेका हुन् ।
कृतिलाई गजल मञ्च चितवनले प्रकाशन गरेको हो । मञ्चले प्रकाशन गरेको यो पाँचौँ कृति हो । मञ्चबाट `गजल सारथी´ गजलप्रधान पत्रिका ५ अङ्कसम्म प्रकाशित छ । त्यसैगरी मञ्चका संस्थापक धनराज गिरीको नानीगजलसङ्ग्रह `कुन्साङ काका´ (२०६२), ढल्दैन स्वाभिमान कसैगरी (२०६६), बालकृष्ण थपलियाको सम्पादनमा कपिल अज्ञातको गजलसङ्ग्रह समय समयका स्वरहरू (२०६४) र पूर्व अध्यक्ष प्रभाकर पण्डितको समय (२०७१) गजलसङ्ग्रह मञ्चबाट प्रकाशित भएका हुन् ।
कार्यक्रममा भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले कृतिकार ठानप्रसाद बसौलाको व्यक्तित्वको बारेमा चर्चा गर्दै गजल मञ्च चितवनको स्थापना र मञ्चले गरेका गजल गतिविधिलाई स्मरण गरेका थिए । त्यसैगरी प्राध्यापक सुरेन्द्र अस्तफलले गजलसङ्ग्रह रहर अनेक अनेकको पाठकीय टिप्पणी राखेका थिए ।
कार्यक्रममा निरञ्जन सिंह, सुमिना घिमिरे, देवेन्द्र सापकोटा, लक्ष्मण भन्ताना, सरस्वती पौडेल, माइल्दाइ न्यौपाने, निर्दोष जीवन, विदुर अधिकारी, राजेन्द्र घायल, सरगम पारु, किसान प्रेमी, लेखराम सापकोटा, देवीमाया सापकोटा, प्रमिला सानु, जयन्ती अधिकारी, समिता पौडेल र श्यामराज रानाभाटले गजल प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले प्रबर्धनात्मक सहयोग गरेको थियो भने सम्पूर्ण किताब नारायणगढ, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज, आरम्भ कलेज, कनेक्ट एजुकेसन र सेन्ट्रल कलेज सहयोगीका रूपमा थिए । कार्यक्रमलाई मञ्चकी सहसचिव प्रमिला सानुले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा उपाध्यक्ष रामकृष्ण अनायासले स्वागत मन्तव्य राख्दै गजल मञ्च चितवनले मोती जयन्तीसहित विभिन्न अवसर पारेर स्थापना कालदेखि नै गजलको प्रबर्द्धन हुने कार्यक्रमहरू गरिरहेको बताए ।