युवा लेखक मिलन सङ्ग्रौला नेपाली साहित्यमा उदाउँदा लेखक हुन् । लेखन कार्यमा सक्रिय उनको वि.सं. २०७० मा ’च्याट गर्ल’, वि.सं. २०७३ मा ’पर्पला’ र यो वर्ष ’बावऋ’ गरी तीन वटा किताब प्रकाशित भएको छ । गत साउनमा लोकार्पण गरिएको ’बावऋ’ को झापामा गृह विमोचन समेत भइसकेको छ । मुख्यगरी त्रिकोणात्मक प्रेम सम्बन्ध र द्वन्द्वकालीन समयको चित्रण भएको ’बावऋ’ ले पाठकवर्गबाट सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ ।
प्रस्तुत छ, यसै पुस्तक र साहित्यको वरिपरि रहेर लेखक मिलन सङ्ग्रौलासँग कायाकैरनकर्मी सुरज बराकोटीले गरेको संवाद :
उपन्यास “बावऋ” को प्रकाशनसँगै कतिको व्यस्तता बढेको छ ?
त्यस्तो धेरै त बढेको छैन । केन्द्र र गृह जिल्लामा विमोचन लगायतका कार्यक्रमहरु गर्न, सुरुवाती प्रतिक्रियाहरुलाई मनन गर्न, पुस्तकको प्रोमोसनका लागि सामाजिक सञ्जालमा समय दिन, पुस्तकसम्बन्धी पत्रकार मित्रहरुसँग सम्वाद गर्न आदिलाई समय छुट्याउनु परेकाले अलिकति व्यस्त भइएको हो कि जस्तोचाहिँ हुँदोरहेछ ।
तपाईलाई लेखनकार्यमा लाग्न केले प्रेरित गर्यो ? प्रेरणाको स्रोतको रुपमा केही वा कसैलाई लिनुभएको छ ?
मेरो बुबा राजेन्द्र सङ्ग्रौला एक उपन्यासकार हुनुहुन्छ । सानैदेखि घरको माहोल साहित्यिक थियो । बुबाले मलाई उहाँका उपन्यासहरुको साफी गर्न लगाउनुहुन्थ्यो । साफीको काम सकेपछि म बुबाका उपन्यासका पात्रहरुलाई सापटी लिएर कल्पनाको अर्कै दुनियाँ खडा गरिरहन्थें । त्यसो गर्दागर्दै थाहै नपाई साहित्यप्रतिको मेरो अनुराग बढ्दै गयो । घरको पुस्तकालयमा सङ्कलित पुस्तकहरुसँग पनि प्रेम बढ्दै गयो । पछि अध्ययनको क्षेत्र कम्प्युटर विज्ञान भए पनि , मैले त्यहाँभित्रका प्रोगामिङका पाठहरुमा जीवन भेटिनँ, न कुनै सम्वेदनाहरु । त्यसैले मेरो मन हरबखत शब्द र साहित्यले व्यक्त गर्ने जीवनका आयामहरुमै भुल्न खोजिरहन्थ्यो र खोजिरहेको छ । त्यसैले मैले मेरो साहित्यिक यात्राको पहिलो प्रेरणाको रुपमा बुबालाई नै मान्छु ।
लगभग एघार वर्षअघि “च्याट गर्ल” प्रकाशन भयो । त्यसको तीन वर्षमा अर्को किताब “पर्पला” प्रकाशनमा आयो र त्यसपछिको लगभग ८ वर्षपछि अहिले “वाबऋ” प्रकाशनमा आएको छ । जुन यो ८ वर्षको समय चाहि किताब तयार हुन लाग्यो कि वा अन्यत्र कतै अलमलिनुभयो ?
बावऋ लेखनमा झन्डै साढे पाँच वर्ष समय लाग्यो । यो समय म यसका पात्रहरु र परिवेश बोकेर बाँचिरहें र आख्यानको संसार निर्माण गर्दै रमाइरहें । उपन्यास अलिक अघि नै आउनु पनि पथ्र्यो होला, तर बीचमा कोभिडकालले हामी सबैको समय तालिकालाई अस्तव्यस्त बनाइदियो । कोभिडकाल सकिन नपाउँदै मैले जीवनमा अकल्पनीय बज्रपात सहनुपर्यो । प्रिय ऋचाजीलाई गुमाउनुपर्यो । उहाँ मेरो जीवनसाथी साथै मेरा रचनाहरुको पहिलो पाठक र सल्लाहकार पनि हुनुहुन्थ्यो । बावऋ उपन्यासको नामकारण पनि उहाँले नै गर्नुभएको थियो । यो सम्वेदना हाललाई थोरै शब्दमा यहाँ समेट्न सकिदैंन ।
त्यसपश्चात झन्डै एक वर्षसम्म उपन्यासको फाइल कम्प्युटरमै थन्कियो । अनि मैले आफूलाई स्वभाविक बनाउँदै उक्त फाइल खोलें, पुनर्लेखन गरें । त्यसपछि अजित बराल दाइलाई पाण्डुलिपि पठाएँ । फाइनप्रिन्टमा मेरो पुस्तक छनौट भयो । अनि सम्पादन र प्रकाशनको चरण पार गर्दै आइपुग्दा पर्पलापछि अर्को कृति निस्कँदा आठ वर्ष समय बितिसकेछ ।
३ वटा किताब प्रकाशन भइसकेको अवस्थामा नेपाली साहित्य क्षेत्रमा यत्तिको फड्को मार्छु होला भनी कहिले सोच्नु भएको थियो ?
यो प्रश्न तपाईले केही मुल्याङ्कन गरेरै सोध्नुभयो होला । त्यसका लागि यहाँलाई धन्यवाद । मलाई पहिलो कृति प्रकाशन गर्दा लेखक बन्ने रहर र हुटहुटी बढी थियो भने दोस्रो कृति निकाल्दा आफ्नो दायरा थप फैलियोस् भन्ने लोभ । तर उक्त भाव खाली किताब निस्कने बेला मात्र हुन्थ्यो, लेखिरहँदा भने म आफ्नै दुनियाँमा रमेर लेख्थें ।
तेस्रो उपन्याससम्म आइपुग्दा लेखनमा रमाउँदै आफ्नो मुख्य विधा आख्यानको परिवेश र पात्रसँग आफू बाँच्नुमा नै वास्तविक मजा लाग्न थाल्यो । आफ्नो निरन्तर लेखनले केही चिनारी दिन्छ भने त्यसलाई स्वीकार्दै अझ आफूले थप अध्ययन र मेहनत गर्न बाँकी नै छ भन्ने मलाई लाग्छ ।
लेखनक्षेत्रमा प्रवेश गर्नुअघिको समय र अहिलेको समयमा के कति फरक पाउनुभएको छ ?
समय धेरै नै फेरिएको छ । प्रविधिले निकै फड्को मारेको छ । पठन संस्कृति र लेखनमा यसका फाइदा बेफाइदा दुवै छन् । लेखनलाई आवश्यक सुचना र स्रोत सामाग्रीको अभाव त्यति हुँदैन । घरै बसेर पनि लेखकले देश विदेशको स्थलगत विवरण, मौसम, विभिन्न क्षेत्रका विविध प्रक्रियाहरु सजिलै अध्ययन गर्न सक्छ ।
अहिले पुस्तक प्रकाशन र वितरणमा पनि पहिलेभन्दा फरक माहोल छ । धेरै अनलाइन पोर्टलहरुको उपलब्धता, पुस्तकहरुको प्रमोसनमा सामाजिक सञ्जालहरुको प्रयोग आदिले पुस्तकको जानकारी पाठकसमक्ष सजिलै पुर्याउन पनि सकिन्छ । तर प्रविधिले सुचना र मनोरन्जनका धेरै किसीमका माध्यमहरुलाई सहज बनाइदिएकाले, पुस्तकप्रति आम मानिसलाई आकर्षित गर्न निकै चुनौती पनि रहेको छ ।
भनिन्छ, लेखक बन्नलाई त्यसभन्दा अघि असल पाठक हुन जरुरी छ । मुख्यगरि पठनको लागि कस्तो किताब तपाईको छनौटमा पर्दछन् ?
लेखक बन्नलाई पर्याप्त अध्ययन जरुरी पक्कै हुन्छ । सुरुवाती कालमा स्वस्फुर्त लेखनले केही परिचय बनेता पनि लेखकले दीर्घकालीन पहिचान बनाउन पर्याप्त अध्ययन गर्दै आफ्नो शैली स्थापित गराउनु पर्छ । अध्ययनले भाषामा पकड, नयाँ शैलीको निर्माण र फरक विषयको छनौटमा पनि उत्तिकै सहयोग पुर्याउँछ । त्यसमाथि पुस्तक अध्ययन आफैंमा एक ध्यान हो, जसले लेखनमा पनि केन्द्रित हुन सहयोग पुर्याउँछ ।
आफू आख्यानमा कलम चलाउने हुनाले विशेष गरी उपन्यास र कथाहरु मेरा रोजाइमा पर्छन् तर पछिल्लो समय गैरआख्यान पुस्तकहरुले पनि मलाई आकर्षित गर्न थालेका छन् । आख्यानमा विशेषत ः नेपाली समकालीन आख्यानहरु मेरो रोजाइमा पर्छन् । अघिल्लो पुस्ताका आख्यानहरु सबैजसो पहिले नै अध्ययन गरिसकेको छु । सरल अंग्रेजीमा लेखिएका आख्यानहरु पनि अध्ययन गर्ने गर्छु । गैरआख्यानमा विशेषतः इतिहास र राजनीति, पर्यावरण र प्रविधि सम्बन्धीका पुस्तकहरु अहिले मेरो रोजाइमा पर्न थालेका छन् ।
पठनको हिसाबले साहित्य बजारलाई कुन रुपले हेर्नुभएको छ ? के डिजिटल मिडिया, प्रविधिको विकासको सँगसँगै विभिन्न मनोरञ्जनात्मक एप्स र सामाजिक सञ्जालको बढ्दो प्रयोगले पठन सँस्कृतिमा कमि आएको हो ?
निश्चय नै आम रुपमा हेर्ने भने, पहिले पुस्तक सुचना , मनोरञ्जन र ज्ञानको प्रमुख माध्यम थियो तर प्रविधिको विस्तारसँगै विभिन्न एप्स र सामाजिक सञ्जालको प्रयोगले मान्छे र पुस्तकको दुरी बढ्दै गएको देखिन्छ । मान्छे छिनछिनमा बदलिरहने सुचनामा लागु हुँदै गइरहेको छ । उसमा धैर्यता र एकाग्रताको कमी बढ्दै गइरहेको छ । पाँच दश सेकेन्डमा बदलिने रिल्स र भिडियोका कारण उसमा पुस्तक पढ्न चाहिने ध्यान जुट्न नसकिरहेको अवस्था छ । यसले मान्छेमा अस्थिरिता र मानसिक समस्या बढाउने अनि सृजनशीलता घटाउने काम गरिरहेको छ ।
नयाँ मिडियामा राम्रा र सिर्जनशील सामाग्री नआएका पनि होइनन् । हेर्ने कथाजस्ता श्रव्यदृश्य तथा इन डेप्थ स्टोरी लगायतका विभिन्न पोडकास्टहरुले राम्रा इन्फोटेन्मेन्ट सामाग्रीहरुको काम पनि गरिरहेका छन् तर पुस्तक भनेको पुस्तक नै हो । आँखा र दिमागको संयोजनले अक्षर अक्षर मिलेर बनेका शब्द, शब्द शब्द मिलेर बनेको वाक्य र वाक्यहरु मिलेर व्यक्त गर्ने भावलाई मनन गर्दै ध्यानमग्न हुनुको मजा अन्त कहाँ पाइन्छ ? त्यो मजा अहिले मान्छेले भुल्दै गइरहेको छ तर मलाई लाग्छ, ढिलोचाँडो मान्छेले आफूलाई फिर्ता ल्याउने कोसिस थाल्नेछ । जसरी विकास र प्रविधिको उच्चतम् प्रयोगले अघाएर मान्छे ब्याक टु नेचरको यात्रामा निस्कदैछ, त्यसरी नै सुचनाका अनेकन फास्टफुडले दिक्क भएर मान्छे ब्याक टु बुक्समा फर्कनेछ ।
हामी सबैले महसुुस गरेका कुरा के छ भनेँ साहित्य बजार पहिल्यैकै रहेन, पाठकवर्ग पहिल्यैकै रहेनन् । परिवर्तन जरुरी छ र यो स्वतः परिवर्तन भइ नै रहन्छ । तर मुख्य कुरा के छ भनेँ नेपाली साहित्य र नयाँ पुस्ताको पाठक बिचको सम्बन्ध केही रुपमा छुट्दै गएको हो कि भन्ने भान भइरहेको हुन्छ । के तपाईलाई यी कुराले मनमा कहिल्यै प्रश्न उठाएका छन् ? यदि छन् भने यी समस्या समाधानकालागि के कस्ता पहलकदमी जरुरी छन् ?
नयाँ पुस्ता जो प्रविधिसँग अभ्यस्त भइरहेको छ, उनीहरु धेरैजसोलाई साहित्यिक पुस्तकहरु पढ्दाको अनुभूति नै थाहा छैन । कोर्सका पुस्तकहरुबाट दिक्क लगाइदिनु बाहेक हाम्रो शैक्षिक प्रणालीले पुस्तकसँग उनीहरुको प्रेम बसाउन सकेको छैन । विद्यालयहरु औपचारिक शिक्षाका अड्डा मात्र भए । पठन संस्कृति तब बढ्ने हो, जब पुस्तकलाई परीक्षाको डर बिना मनले आनन्द मान्दै पढ्छ । पुस्तकलाई हाउगुजी बनाएर तर्साउने हाम्रो प्रणालीले वास्तवमै नयाँ पुस्तालाई समाज र समयको मर्मबाट नै अलग्याउँदै छ । सम्वेदनहीनता , फास्टफुड जीवन शैली र पलायनवादको समस्याले जकड्दै छ । तर फेरि पनि यी सम्पूर्ण समस्याको हल साहित्यले नै गर्ने हो । दुनियाँमा धेरै अतिहरु चरममा पुगेर मान्छेले बाटो बिराएको बेला साहित्य मात्र यस्तो चीज रहन्छ, जसले फेरि मान्छेलाई मानवीय धरातल सम्झाइदिन्छ । मान्छेलाई मान्छे हुन आवश्यक सम्वेदना जगाइदिन्छ ।
मुख्यतः हाम्रो शिक्षा प्रणाली र यसको ठेक्का लिएर बसेका शिक्षाका पहरेदारहरुले नै यसबारे उचित कदम चाल्नुपर्ने देख्छु म । विद्यालय स्तरदेखि नै सिर्जनशील साहित्य र पाठ्यक्रमइतरका पुस्तकहरुमा विद्यार्थीलाई अभ्यस्त बनाउने । विद्यालय तथा कलेजहरुमा वास्तविक रुपकै(नाम मात्रका हैन) पुस्तकालयको निर्माण गर्ने आदि गरिनुपर्छ । हामी सर्जकहरुले त सिर्जनामै समय दिने हो । अध्ययनलाई परीक्षा पार गराउने एउटा प्रक्रिया र शिक्षालाई मान्छे व्यस्क बनाउन समय व्यतित गराउने एक अवधि मात्र मानियो भने , हामी सचेतनाको स्तरमा धेरै पछि नै रहिरहनेछौं ।
हामीले विभिन्न सामाजिक सञ्जालमा देख्न सक्छौं कि लेखक र समालोचक होस् या लेखक र पाठकबिच केही न केही असमझदारी बढिरहेकै छन् । कतिपय ठाउँमा त लेखकहरुले हामीले गम्भीर पाठक पाएनौं वा पाठकहरुले हामीले गतिलो लेखक पाएनौ भनेर आक्षेप नै लगाएको पाएका हुन्छौं । त्यस्तै समालोचकद्वारा लेखकको कमीकमजोरीमाथि मात्र प्रहार भयो भन्ने जस्ता कुराहरु पनि आइरहेका हुन्छन् । यसले आउँदा दिनहरुमा नेपाली साहित्य क्षेत्रमा कस्तो भाष्य निर्माण गर्ला ?
समालोचकहरुसँग त्यस्तो मेरो कुनै तितो अनुभूति छैन । हुन त अहिले समालोचना विधा नै कोमा छ भन्ने मलाई लाग्छ । पुस्तक माथिका अखबारीय टिप्पणी या न्युजपोर्टलका लागि लेखिने पुस्तक समिक्षाको भरमा मात्र समालोचनाको धड्कन थामिएको छ । त्यसमाथि पनि धेरै समालोचनाहरु कि बढ्ता बद्ख्वाइँले भरिएका हुन्छन् या त पूर्वाग्रहले । निश्पक्ष नजरले कुनै पनि कृतिको समाथ्र्य र सिमालाई पर्गेल्ने समालोचनाको खाँचो अहिलेको नेपाली साहित्यमा देखिन्छ ।
हरेक पाठकको आआफ्नै दृष्टिकोण हुन्छ । भोगाई हुन्छ । उसले आफ्नो प्रकृति अनुरुपकै पुस्तकहरु छान्ने गर्छ । त्यो उसको अधिकार हो । यसमा कुनै लेखककले फलानो पाठक वर्गले मेरा पुस्तक पढेनन् भनेर गुनासो गर्नुको कुनै अर्थ छैन ।
एक लेखककले पनि आफूले छनोट गरेको विषयमा कलम चलाउँछ र त्यसलाई अध्ययन गर्ने एक निश्चित पाठक वर्ग हुन्छ । उक्त वर्गका पाठकले उक्त लेखकको कृति मन पराए उक्त लेखक सफल ठहरिन्छ । यसलाई अन्र्तराष्ट्रिय साहित्यमा सामान्य प्रक्रियाको रुपमा लिइन्छ । त्यहाँ आआफ्ना धारका लेखक र पाठक आआफूमा सक्रिय छन् । तर हाम्रो परिस्थिति अलिक फरक छ । हामी कहाँ अलग धार या विषयमा केन्द्रित लेखककलाई उसका कृतिहरुको अध्ययन नै नगरी अवमुल्यन गर्ने, सामाजिक सञ्जालहरुमा नकरात्मक टिप्पणी गर्ने, खिल्ली उडाउने आदि गरेको देखिन्छ । आफू निकटलाइ वाह ! वाह ! गर्ने र गुटइतरकालाई स्वाहा ! गर्ने प्रवृत्तिले समग्र नेपाली साहित्यको गुणवक्तामा नै असर पारिरहेको देखिन्छ ।
अब प्रवेश गरौँ तपाईं नयाँ पुस्तकमा, के कारणले बावऋ लेखिनुपर्छ जस्तो लाग्यो ?
यो मलाई मनैदेखि भन्न मन लागेको कथा हो, जुन मेरो किशोरमय भोगाइसँग निकै नजिक पनि छ । आख्यानीकरणमा पात्र र कथामा केही बदलाव त हुन्छ नै । लेखनको अवधिभर म यसका पात्रहरु र परिवेश बोकेर बाँचिरहें र आख्यानको संसार निर्माण गर्दै रमाइरहें । यसको लेखनयात्रा निकै आनन्दमय भयो ।
के बावऋ मा प्रेम कथामात्र छ ? या यसले समाजमा रहेका केही कुरालाई उठान गरेको छ ? यो मुख्य कुन विषयमा केन्द्रित छ ?
बावऋ विशेषत साठीको दशक सुरुवातको कालखण्डमा बुनिएको तीन किशोरहरुको भावनात्मक सम्बन्धको त्रिकोणात्मक कथा हो । किशोरवयमा हुने निश्चल र आदर्श प्रेमलाई त्यसबेलाको समाजिक अवस्थितिले कसरी असर गर्यो ? उनीहरुको भोगाईको दृष्टिकोणबाट लेखिएको हो बावऋ । उपन्यासमा उनीहरुको प्रेमसँगै त्यसबेलाको द्धन्दरत समाजले भोगेका समस्याहरु, बाबुछोराको सम्बन्ध, मित्रताको सम्बन्ध, गुरुचेलाको सम्बन्ध आदिलाई उपन्यासको कथानकसँगै बुनेर लाने प्रयास गरेको छु ।
“बावऋ” मा त्यस्तो के छ जुन तपाईंकै किताब “च्याट गर्ल” र “पर्पला” मा छैन ? यी तीन वटा किताबको तुलनामा बावऋ कुन रुपमा फरक छ ?
मेरा अघिल्ला कृतिहरुमा च्याट गर्ल २०७० मा प्रकाशित भएको थियो । यसका कथाहरु धेरैजसो त्यही समयभन्दा एकाध सालअघिको समय र परिवेशमा आधारित थिए । पर्पला उपन्यास २०७३ सालमा प्रकाशित भएको थियो, र जहाँ २०७०–२०७१ तिरकै समय र परिवेश चित्रित छ । दुवै कृतिमा आफूले त्यसबेला गरेको महसुस, अनुभूति, समाज र यसका विविध पात्रहरुको अध्ययनलाई आफूले सकेसम्म उतार्ने प्रयास गरेको थिएँ ।
बावऋ उपन्यास भने २०८१ सालमा प्रकाशित भए पनि , यो विशेषत साठीको दशक सुरुवातको कालखण्डमा बुनिएको तिन किशोरहरु र सँगै आउने समाज र अन्य पात्रहरुको कथा । यस मानेमा मैले अलिक अगाडिको कालखण्ड रोज्नु नै पहिलेभन्दा केही फरक हुनुपर्छ । बावऋको कथानकमा मैले प्रेमसँगै समाजका विविध तह र पाटाहरुलाई उन्ने कोसिस गरेको छु ।
पाठकले एउटा किताब पढिरहनु हुँदा उहाँले समय र पैसा खर्च गरिरहनु भएको हुन्छ । “बावऋ” मा समय र पैसा खर्च नहुँदा तपाईलाई पाठकले के कुरा गुमाउनु हुन्छ झैँ लाग्छ ?
यो अलिक गाह्रै पश्न हो जस्तो लाग्छ । किनभने, हरेक पाठकको आआफ्नै रुचि हुन्छ । पुस्तक छनोटमा उसको आफ्नै धारणा हुन्छ । उसलाई कस्तो पुस्तक मन पर्छ भन्ने उसको भोगाई, वर्तमान अवस्थिति र समाजप्रतिको बुझाई इत्यादिले पनि निर्धारण गर्छ ।
आफ्नो बद्ख्वाईं त म गर्दिन तर यति भन्छु, बावऋ नपढ्दा एक पाठकले, एक लेखकले आफूले आनन्दित हुँदै, पात्र र परिवेशहरुलाई बोकेर झन्डै उनीहरुसँगै बाँच्दै, उनीहरुका भावनामा आफू पनि सम्वेदित हुँदै लेखेको प्रेमिल पुस्तक चाहिँ पढ्नबाट छुटाउँछ झैं लाग्छ ।
म आफैलाई पनि साहित्यिक पाठकको रुपमा चिनाउन चाहन्छु । कतिको गम्भीर पाठक हुँ या हैन त्यो त थाहा छैन । लेखक, शिर्षक र विषयवस्तु मेरो किताब छनौटका मुख्य आधार हुन् । सबै मैले चाहेको जस्तो हुनुपर्छ त भन्दिन तर म के चाहन्छु भने किताबको शिर्षकको रहस्य किताब पढ्दै जाँदा खुल्दै जाओस् । हरेक किताबको शिर्षक या भनौँ नामले एउटा विषयवस्तुको भावार्थ दिओस् । तपाईले कतिपय ठाउँमा यो पुस्तकको नाम यसरी रहन गयो भनेर भनिरहँदा म जस्तो पाठक माथि अन्याय भयो कि भन्ने लाग्दैन ?
तपाईंको प्रश्नको मर्म मैले बुझें । तर यसपटक बावऋ र बाबरी बीचको दोधारले उब्जिएका विभिन्न प्रश्नहरुको जवाफ दिने क्रममा यसको नामको अर्थ खुल्न गयो । यो प्रश्न आगामी दिनका लागि एउटा सचेतना पनि हो । वास्तवमा शीर्षकको अर्थ पुस्तक पढ्दै गर्दा खुल्यो भने नै पाठक अझ पुस्तकको भावसँग एकाकार हुन सक्छ । अब थप पत्रकार मित्रहरु र नयाँ पाठकका लागि भने बावऋको अर्थ उपन्यासभित्रै भेट्नुहुनेछ भन्ने जवाफ रहनेछ मेरो ।
तपाईंको लेखन कार्यले आगामी दिनहरुमा पनि कत्तिको निरन्तरता पाउला ? अबको पाँचवर्षमा के हामीले तपाईको अर्को किताब पढ्न पाउँछौं होला ? यदि किताब लेखिहाल्नु भयो भने कुन विषयवस्तुमाथि लेख्छु भन्ने सोच्नुभएको छ ?
लेखन त अब जीवनको हिस्सा बनिसक्यो । निरन्तरता त अवस्य नै हुन्छ नै तर अहिले तत्काल भने अर्को पुस्तक के होला भन्ने निर्णये मैले गरिसकेको छैन । लेख्ने केही विषयहरु मनमा केही खेलिरहेका छन् । अलिक फरक धारको कथा पनि मनमा खेलिरहेको छ तर निक्र्यौल भएर पहिलो चरणको लेखन नसकिउन्जेल यसबारे नखुल्नु नै उचित लाग्छ मलाई । पाँच वर्षभित्र नयाँ कृति दिने कोसिस अवश्य रहनेछ मेरो ।
अन्त्यमा, तपाईंलाई प्रेरणाको स्रोत मान्नुहुने युवाहरुलाई तपाईं कसरी सम्झन चाहनुहुन्छ ?
साहित्यको अभिरुचिलाई सधैं कायम राख्नुहोला । प्रविधिका अनेक माध्यमहरुको चुनौती माझ पुस्तकलाई विशेष प्रेम दिनुहोला । धेरैजसो विभिन्न कारणले संसारका केयौं कुनाहरुसम्म छरिनु भएको छ । नर्बिसनुहोला, जहाँ भए पनि तपाईं देशकै संस्कृति, कला र साहित्यको प्रतिनिधिको रुपमा उभिनु भएको हुनेछ । सधैं सकारत्मक उर्जाका साथ तपाईंको यात्रा अघि बढिरहोस् । यही सन्देश र शुभकामना दिन चाहन्छु ।