एकनारायण पौडेल
पुस्तकालय सभ्य, सुसंस्कृत अनि शिक्षित समाजको अभिन्न अंग हो, ज्ञानको भण्डार हो । मानव इतिहास, सभ्यता र संस्कृतिको परिचायक हो । सूचना र ज्ञान बिना कुनै पनि व्यक्ति, समाज र देशको सफल कार्यको कल्पना हुन सक्दैन । यसलाई पूरा गर्न पुस्तकालयको आवश्यकता पर्दछ । संस्कृत भाषाको पुस्तक र आलय शब्दबाट उत्पत्ति भएको शब्दलाई नेपाली भाषामा पुस्तकालय भनिन्छ । पुस्तक र आलयबाट पुस्तकालय बनेको छ । जसको अर्थ पुस्तकहरु संग्रह गर्ने स्थान वा घर भन्ने बुझिन्छ । परम्परागत रुपमा पुस्तकालयलाई पुस्तकहरु संग्रह गर्ने संग्रहालयको रुपमा प्रयोग गरिन्थ्यो । तर समयको विकास संगै यसको अर्थमा पनि केही परिवर्तन हुंदै वर्तमान समयमा पुस्तकालयलाई पुस्तक संग्रह मात्र नभई यसले ज्ञान सूचनाको संग्रह वर्गीकरण, व्यवस्थापन सुरक्षा र वितरण भन्ने जनाउँछ ।
मानव जातिको उत्पत्ति कालदेखि नै आफूले देखेभोगेका, अनुभूत गरेका, कल्पना गरेका र प्रमाणित विचारहरुलाई लिपिबद्ध गर्न माटाका चक्कीबाट सुरु गरिएको अभिलेखीकरणको परम्परा क्रमशः ढुंगा, काठ, समुद्री विरुवाको बोक्रा, जनावरको छाला, धातु, ताडपत्र, भोजपत्र, कागजहुंदै श्रव्यदृश्य जस्ता विद्युतीय सामग्रीसम्म आइपुगेको छ । यसलाई नै इतिहासको जरो मान्नु पर्दछ ।
प्रसंग राष्ट्रिय पुस्तकालय दिवसको
नेपालमा पुस्तकालयको इतिहास दुई सय १२ वर्ष पुगिसकेको छ । तर पुस्तकालयको प्रयोग र महत्व केही सीमित व्यक्तिहरुमा मात्र सिमित थियो । विस्तारै सार्वजनिकरुपमा पुस्तकालय खोल्दै जाने, शैक्षिक पुस्तकालयको आवश्यकता, महत्व र प्रयोग बढ्दै जान थालेपछि नेपालमा पुस्तकालयको जन्म, विकास सम्बन्धमा पुस्तकालयप्रेमीहरुको चासो बढ्दै जान थाल्यो । ज्ञानको मुहानको रुपमा चिनिने पुस्तकालयलाई सम्मान गर्नुपर्दछ, यसको दिवस मनाउनु पर्दछ भन्ने महसुस हुन थाल्यो । यसै क्रममा पुस्तकालयप्रेमी संस्कृतविद, इतिहासविदहरुको बीचमा छलफल भइ पुस्तकालय दिवस मनाउन तपसिल बमोजिमको तर्कसहित प्रत्येक वर्षको भदौ १५ गतेलाई चयन गर्न सफल भयो ।
पृथ्वीनारायण शाहले युद्धबाट काठमाडौं उपत्यका विजय गरेपश्चात नुवाकोट दरबार, गोरखा दरबारबाट भक्तपुर तथा जहाँ–जहाँ विजय गरे त्यहाँको हस्तलिखित ग्रन्थहरु हनुमानढोकास्थित दरबारको पूजाकोठामा राखियो । यसरी संग्रह गरिएको केही वर्षपछि अघोषित राजकीय पुस्तकालयको दर्जा पायो । राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा विसं १८६९ भदौ १५ (सन् १८१२ अगष्ट २८) गते शुक्रबार षष्ठि तिथिका दिनमा ‘पुस्तक चिताइ तहविल’ सम्बन्धी नीति नियमको लालमोहर जारी भयो । जसमा ‘चिताइ’ भन्नाले रेखदेख र ‘तहविल’ को अर्थ संग्रह हुन्छ । यसै लालमोहरबाट नेपालको इतिहासमै सर्वप्रथम पुस्तकालयले कानुनी मान्यता पायो । जसको फलस्वरुप आज पनि हामी भदौ १५ गते पुस्तकालय दिवसको रुपमा मनाइरहेको छौं ।
नेपालको पहिलो पुस्तकालय तहविलदार (लाइब्रेरियन) पण्डित केदारनाथ झालाई वार्षिक रु १२५ दिने गरी नियुक्त गरिएको थियो । यसर्थ राजा गिर्वाणयुद्ध विक्रम शाहले नेपालमा पुस्तकालयको सुरुवात गराएका थिए । त्यतिबेला तहविलदारको काम दैनिक पूजाआजा गर्नु, पुस्तक आदि सामग्रीको रक्षा गर्नु, किरा मुसाबाट जोगाउनु रहेको थियो । यसपछि राणा प्रधानमन्त्री जङ्गबहादुरले सन् १९०४ मा ‘पुस्तक चिताइ तहविलका’ पुस्तकहरु थापाथली दरबारमा सारी खड्गराम जोशीलाई लाईब्रेरियन नियुक्त गरेका थिए । त्यसैगरी १९५३ मा वीर शमशेरले सो पुस्तकालयलाई दरबार स्कूलमा सारे । यसैलाई दरबार लाईब्रेरीको नामले चिनियो । पछि १९५७ मा यसलाई घण्टाघरमा निर्मित नयाँ भवनमा सारियो र वीर पुस्तकालय नाम दिइयो । वीर शमशेरको पालादेखि पुस्तकालय सर्वसाधारणका लागि पनि खुल्ला गरियो । अहिले यी पुराना सामग्रीहरु रामशाहपथको राष्ट्रिय अभिलेखालयमा संरक्षित रहेका छन् ।
(वि.सं. १८६९ भाद्र १५ गते तत्कालिन राजा गिर्वाणयुद्ध विरविक्रम शाहदेवले जारी गरेको लालमोहर जस्ताको तस्तै ।)
पुस्तकालय दिवस र चितवन
देशकै मध्य भागमा रहेको अन्य जिल्ला भन्दा शैक्षिक क्षेत्रमा अग्र स्थानमा रहेको चितवन जिल्ला मेडिकल सिटीको रुपमा चिनिँदै आए पनि पुस्तकालयको विकासको क्षेत्रमा पछि नै परेको महसुस हुन्छ । चितवनमा साना ठुला गरेर ५० भन्दा बढी पुस्तकालय रहे पनि खोज र अनुसन्धानको कमीले कुन ठाउँमा कस्ता खालका कुन अवस्थामा छन् भन्ने किटानका साथ भन्न सकिँदैन । व्यक्तिमा पनि पुस्तकालयप्रति रुचि कम हुनु, राज्यले पनि कुनै ध्यान नदिनुले शैक्षिक बाहेक अन्य पुस्तकालयहरु जीर्ण र लोपोन्मुख अवस्थामा छन् । यदि यस्ता पुस्तकालयको संरक्षण, जीर्णाेद्धार र विकास गर्न सके लोकतान्त्रिक जननिर्वाचित स्थानीय सरकारले बनाउन खोजेको सभ्य समाजको निर्माणमा टेवा पु¥याउने थियो । १७ औं राष्ट्रिय पुस्तकालय दिवस “पढौं पढाऔ निरन्तर, शिक्षाको लागि पुस्तकालय जाऔं” भन्ने मूल नाराले मूर्तरुप पाउन सक्ने थियो होला ।
नेपाल सरकारको शिक्षा मन्त्रालय संघीय मामिला तथा स्थानीय मन्त्रालयले केन्द्रीय स्तरमा पुस्तकालय दिवसलाई महत्व दिए पनि चितवनमा भने खासै चहलपहल देखिँदैन । पुस्तकालय क्षेत्रप्रति चासो नहुनुमा केही कारणहरु छन् जसमा पुस्तकालयमा गएर पढ्ने संस्कृतिको विकास नहुनु, पाठकका रुचि अनुसारका अध्ययन सामग्रीहरुमा कमी हुनु, भइरहेको पुस्तकालय पनि समय अनुसार चल्न नसक्नु, राज्यको ध्यान कमी हुनु र पुस्तकालय सम्बन्धी एक छाता संगठनको अभाव हुनुलाई मान्न सकिन्छ । यदि पुस्तकालयको विकास गर्न सके व्यक्ति, परिवार समाज हुंदै राष्ट्र नै सभ्य बन्न सक्दछ ।
सूचना र ज्ञानविना कुनै पनि समाज र जुनसुकैको सफल कार्यको कल्पना हुन सक्दैन । त्यसैले पुस्तकालय दिवसको बहुआयामिक महत्वलाई बुझेर पुस्तकालय तथा सूचना केन्द्र सम्बन्धी विभिन्न संघसंस्था, व्यक्तित्वहरु, शिक्षक, विद्यार्थी, संस्कृतविदहरुको सल्लाह सुझावहरुको आधारमा नेपालको पुस्तकालयको इतिहास, संस्कृति र सभ्यता झल्कने दिनलाई पुस्तकालय दिवस मनाउने निर्णयअनुसार वि.स. १९६९ भदौ १५ गतेका दिन पुस्तकालय विकासका लागि लगाइएको लालमोहरलाई आधार मानी पुस्तकालयको महत्व र समस्याका बारेमा जे जस्ता अवस्था भए पनि चितवन जिल्लामा पनि केही पुस्तकालय पेशाकर्मी संगठित भई राष्ट्रिय पुस्तकालय दिवस प्रत्येक भदौ १५ मा मनाउँदै आएका छौं । नेपालमा राष्ट्रिय पुस्तकालय दिवस मनाउने क्रममा चितवनमा पनि निम्न नाराहरु र स्थानहरुमा तपसिल बमोजिम राष्ट्रिय पुस्तकालय दिवस मनाउंदै आएका छौं ।
पहिलो राष्ट्रिय पुस्तकालय दिवस २०६५ “सवैका लािग पुस्तकालय” उक्त दिवस चितवनमा मनाउन असमर्थ ।
दोस्रो राष्ट्रिय पुस्तकालय दिवस २०६६ “पुस्तकालयको विकास नयां नेपालको निकास” उद्योग वाणिज्य संघ रत्ननगर, टाँडी, चितवन ।
तेस्रो राष्ट्रिय पुस्तकालय दिवस २०६७ “सूचना, ज्ञान र सीपका लागि पुस्तकालय” वि.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल यज्ञपुरी, चितवन ।
चौंथो राष्ट्रिय पुस्तकालय दिवस २०६८ “समृद्ध नेपालका लागि पुस्तकालय” स्कुल अफ हेल्थ साइन्स भरतप¬र ।
पाँचौं राष्ट्रिय पुस्तकालय दिवस २०६९ “पुस्तकालय जाऔं, पढ्ने बानीको विकास गरौं” वीरेन्द्र बहुमुखी क्याम्पस भरतप¬र ।
छैठौं राष्ट्रिय पुस्तकालय दिवस २०७० “एक गाउं एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय” स्कुल अफ हेल्थ साइन्स भरतप¬र ।
.सातौं राष्ट्रिय पुस्तकालय दिवस २०७१ “पुस्तकालयको विकास, सभ्य समाजको आधार” स्कुल अफ हेल्थ साइन्स भरतप¬र ।
आठौं राष्ट्रिय पुस्तकालय दिवस २०७२ “पुस्तकालयलाई माया गरौं,पुस्तकालयलाई विकास गरौं” । वीरेन्द्र बहुमुखी क्याम्पस भरतप¬र ।
नवौं राष्ट्रिय पुस्तकालय दिवस २०७३ “ जीवन पर्यन्त शिक्षाका लागि पुस्तकालय” वीरेन्द्र बहुमुखी क्याम्पस भरतप¬र, ।
दशौं राष्ट्रिय पुस्तकालय दिवस २०७४ “एक स्थानीय तह र एक नमुना पुस्तकालय” वीरेन्द्र बहुमुखी क्याम्पस भरतप¬र ।
.एघारौं राष्ट्रिय पुस्तकालय दिवस २०७५ “समृद्ध पुस्तकालय सुदृढ समाज” दोभान पुस्तकालय भरतप¬र ।
बाह्रौं राष्ट्रिय पुस्तकालय दिवस २०७६ लाई “पठन संस्कृतिको पूर्वाधार, पुस्तकालयको विकास र विस्तार” वीरेन्द्र बहुमुखी क्याम्पस भरतप¬र ।
तेह्रौं पुस्तकालय दिवस २०७७ “समाज रुपान्तरणको लागी पुस्तकालय” आ–आफ्ना बन्द कोठामा सूचना र प्रविधिको माध्यमबाट ।
२०७७ सालमा विश्व सम¬दाय नै कोरोना माहामारीबाट अस्तब्यस्त बनी सम्पूर्ण विश्व मानव विकासको सबै पक्ष माथि बज्रपात भई मानव विकासका कार्य र गतिविधिहरूमा ताला लगाएको अवस्था भए पनि हामीले भन्ने मूल नाराका साथ अन्तरक्रिया गरी भाद्र १५ मा नै मनायौं ।
चौधौं राष्ट्रिय पुस्तकालय दिवस २०७८ “सबल समाजको आधर सार्वजनिक पुस्तकालयको विकास र विस्तार” भन्ने मूल नाराका साथ आइ.ओ. एम. टी. नर्सिङ कलेज भरतप¬रमा मनायौं ।
पन्ध्रौं राष्ट्रिय पुस्तकालय दिवस “पढौं पढाऔ निरन्तर, शिक्षाको लागि पुस्तकालय जाऔं” रामेश्वर सार्वजनिक पुस्तकालय भरतपुर–२, क्षेत्रपुुर
सोेह्रौं राष्ट्रिय पुस्तकालय दिवस रामेश्वर सार्वजनिक पुस्तकालय भरतपुर–२, क्षेत्रपुुर
पुस्तकालय दिवस मनाएर ठूलो उपलब्धि हासिल नगरे पनि कुनै दिन सबै निकाय, संघसंस्थाले साथ दिने छ भनी हामी यसलाई निरन्तरता दिइरहेका छौं । साथै २०७६ देखि संघीय मामिला तथा स्थानीय मन्त्रालयले सम्पूर्ण स्थानीय निकायहरुलाई आफू अन्तर्गतका शैक्षिक संस्थाहरुमा पुस्तकालय दिवस मनाउन सूचना जारी गरेकोमा सरकारले पनि केही ध्यान पु¥याउन थालेको आभास हुन्छ । तर चितवनमा वि.सं. २०७० सालदेखि एकनारायण पौडेलको अध्यक्षतामा एक पुस्तकालय तदर्थ समिति क्रियाशील छ । आज हामी नेपाल समुदायिक पुस्तकालय संघ बागमती प्रदेश कार्य समितिको नेतृत्वमा चितवन पुस्तकालय संघ र चितवनका अन्य सार्वजनिक पुस्तकालयको संयुक्त आयोजनामा यही भदौ १३, १४ र १५ गते “निरन्तर शिक्षाको लागि पुस्तकालय” भत्रे मुल नाराका साथ ज्योति पुस्तकालय, भरतपुर–१२ चितवनमा पुस्तकालय दिवस विविध कार्यक्रम स् चित्रकला प्रतियोगिता, प्रभातफेरि र पुस्तकालय व्यवस्थापन तालिम साथै अन्तरक्रिया कार्यकक्रमका साथ मनाउँदै छौं ।
अन्त्यमा, १७ औं पुस्तकालय दिवसको उपलक्ष्यमा देश विदेशका समस्त पुस्तकालयकर्मी, पुस्तकालयप्रेमी तथा यस क्षेत्रसँग सम्बन्ध राख्ने सबै व्यक्ति, संस्था र सङ्घसंगठनहरूमा चितवन पुस्तकालय सङ्घका तर्फबाट अभिवादन, हार्दिक मंगलमय शुभकामना र शुभेच्छा व्यक्त गर्दछु ।
स्रोतः अनलाइन, पत्रपत्रिका, पुराना लेखहरु
(लेखक चितवन जिल्ला पुस्तकालय संघ जिल्ला तदर्थ समितिका अध्यक्ष हुनुहुन्छ ।)