भरतपुर, १५ भदौ ।
लायन्स क्लब अफ नारायणगढ बालकुमारीले राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर लायन्स बुक कर्नरको स्थापना गरेको छ । विद्यालय, कारागार तथा अन्य सार्वजनिक स्थानहरुमा क्रमिकरुपमा यस्ता बुक कर्नरहरु स्थापना गर्ने लक्ष्य लिएको क्लबले पहिलो चरणको बुक कर्नर नारायणगढको शहीदचोकस्थित अनन्तगंगा प्लाजामा रहेको क्लबको सचिवालयमा स्थापना गरेको हो ।
क्लबका सदस्यहरुले श्वतस्फुर्त रुपमा करिब ५५ हजार मूल्य बराबरका विभिन्न पुस्तकहरु प्रदान गरी लायन्स बुक कर्नरको स्थापना गरिएको हो ।
१८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण पुस्तकालयका क्षेत्रमा भएका गतिविधिहरू एवम् पुस्तकालयको आवश्यकता बारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा वि. सं. २०६५ देखि भदौ १५ लाई पुस्तकालय दिवसको रूपमा मनाउन सुरू गरिएको हो ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट एक्ज्युकेटिव चिफद्वय नेत्रप्रसाद आचार्य र बालगोपाल चुकेले क्लबका अध्यक्षलाई बुक कर्नरका लागि आवश्यक पुस्तक हस्तान्तरण गरेर स्थापना भएको उक्त कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ का डिष्ट्रिक्ट चिफ ईश्वरकुमार राजभण्डारी, डिष्ट्रिक्ट प्रोग्राम मेम्बर हरिराम पौडेल, डिष्ट्रिक्ट मेम्बरहरु ध्रुबप्रसाद पौडेल, रामचन्द्र सापकोटा, शिव श्रेष्ठलगायत क्लबका पूर्व अध्यक्ष र सदस्यहरुको उपस्थिति रहेको क्लबका जनसम्पर्क अधिकृत सरोजकुमार मास्केले जानकारी दिए ।