माडी, १५ भदौ ।
युवा कवि विपिन पाठकको पहिलो कवितासङ्ग्रह ‘मरुभूमिमा वासन्ती याम’ लोकार्पण भएको छ । माडीको नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा चर्चित रातोमाटे डाँडामा शुक्रबार माडी साहित्य परिवारले आयोजना गरेको कार्यक्रममा कृति लोकार्पण गरिएको हो । कार्यक्रममा चितवन, मकवानपुर, नवलपरासी र कैलालीका साहित्यसर्जकहरुको उपस्थिति रहेको थियो ।
माडी साहित्य परिवारका अध्यक्ष चन्द्रमणि महतो, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो, कवि पाठकका बुबाआमा बालकृष्ण र पार्वती पाठक, कवि भूपिन, युवा नेता रामप्रसाद न्यौपानेलगायतले सो पुस्तकको लोकार्पण गरेका हुन् ।
कार्यक्रममा लेखक एवं कवि पाठकको व्यक्तित्व एवं कृतिका सन्दर्भमा डा. धनेश्वर भट्टराईले चर्चा गरेका थिए । भट्टराईले कवि पाठक कवितामा गहिरो रुचि भएको व्यक्ति भएको बताए । समाज र व्यवस्था बुझेको कविका रूपमा पाठकले आफ्नो पहिचान बनाएको भट्टराईले बताए ।
त्यसैगरी लेखक भूपिनले कवि विपिनको कविता लेखन लोभलाग्दो रहेको बताए । `कविता लेखनमा यिनी लोभलाग्दो किसिमबाट आएका छन्, यिनले कविता बुझेका छन्, यिनले अझै स्तरीय कविता लेखेर आउनुपर्ने चुनौती यो सङ्ग्रहले दिएको छ´, भूपिनले भने ।
कार्यक्रममा कवि पोषराज पौडेल, बाम बुद्धिजीवी प्रेम रिमाल, युवा राजनीतिज्ञ रामप्रसाद न्यौपाने, साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईं, हेटौंडाबाट आएका कवि पुरुषोत्तम आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै कवि विपिनले आफू माडीको सामान्य परिवारमा जन्मिएको र यहि सामान्य समाजको संगतमा बसेकोले आफ्ना कवितामा पनि समाजका सामान्य कुरालाई समेटेको बताए ।
इन्डिगो इन्क प्रालि काठमाडाैंबाट प्रकाशित कविता सङ्ग्रहमा ४० वटा कविता छन् । सम्पूर्ण किताब नारायणगढले यो पुस्तकको बिक्रीवितरणको जिम्मेवारी लिएको छ । पुस्तकको मूल्य ३४९/- रहेको छ ।