मकवानपुर, १४ भदौ ।
बागमती प्रदेशका चार जिल्लामा भएका विभिन्न घटनामा परी चार जनाको मृत्यु भएको छ । बिहीबार चितवन, सिन्धुली, धादिङ र काभ्रेमा एक/एक जना गरी चार जनाको मृत्यु भएको बागमती प्रदेश प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
बिहीबार चितवनको कालिका नगरपालिका–१० स्थित पाईमराङमा चट्याङ लागेर एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय दिलबहादुर प्रजा रहेका छन् । प्रहरीका अनुसार बिहीबार दिउँसो ३ बजे चट्याङ लागेर प्रजाको घरमै मृत्यु भएको हो ।
यस्तै बिहीबार नै सिन्धुलीको कमलामाई नगरपालिका–६ मा सुतेकाे अवस्था मै एक जनाकाे मृत्यु भएको छ । दुधौली नगरपालिका–३ स्थित झुंगा घर भई हाल कमलामाईमा डेरामा बस्दै आएकी ३५ वर्षीया जानुका माझी सुतेको अवस्थामा मृत भेटिएको हो । माझीलाई अचेत अवस्थामा देखेपछि तत्काल जिल्ला अस्पताल सिन्धुली लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यस्तै धादिङको नेत्रावति डबजोङ गाउँपालिका–१ मा एक जना घर नजिकैकाे सडकमा मृत फेला परेका छन् । १ महिनादेखि घरमा एक्लै बस्दै आएको स्थानीय ५१ वर्षीय हरी बहादुर अधिकारी घर नजिकैको सडकमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
यस्तै काभ्रेको नमोबुद्ध नगरपालिका–६ मा एक बालिका मृत अवस्थामा भेटिएकी छिन् । १३ वर्षीया खुसी न्यौपाने मृत अवस्था भेटिएकी हुन् । न्यौपाने हराएको खबर बिहीबार साँझ ५ बजे प्रहरी चौकी कटुन्जेवेशीमा प्राप्त भएकाेमा प्रहरी टोली र आफन्तहरुले खोजतलास गर्दै जाँदा डेढ घण्टापछि दाप्चा खोलाको दहमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।