रत्ननगर, १३ भदौ ।
१७औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा रत्ननगर नगरपालिका वडा नम्बर ५ झुवानीमा रहेको झुवानी सामुदायिक पुस्तकालयको आयोजना, रत्ननगर नगरपालिका वडा नम्बर ५ र रत्ननगर नगरपालिकाको समन्वयमा बिहीबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
“निरन्तर शिक्षाको लागि पुस्तकालय” भन्ने नाराका साथ मनाइएको १७औं राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर झुवानी सामुदायिक पुस्तकालयले “समुन्नत समाज निर्माणका लागि सामुदायिक पुस्तकालयको भूमिका” विषयमा रत्ननगर अन्तरमाध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
रत्ननगर नगरपालिकाभित्रका १२ विद्यालयका २४ विद्यार्थीहरुको सहभागीमध्ये प्रतियोगितामा पञ्चकन्या माविकी स्मृति पाण्डे प्रथम, स्काइराइडर आवासीय माविकी सनजिना सुवेदी द्वितीय, ग्रीन सोसाइटी पब्लिक स्कुलकी प्रशंसा पाण्डे तृतीय, माधवपुर माविका सुजन सिम्खडा र झुवानी माविका रेगन पुलामी मगरले सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
पुस्तकालयका अध्यक्ष अनिल अर्यालको अध्यक्षतामा आयोजित वक्तृत्वकला प्रतियोगितामा वरिष्ठ साहित्यकार धनराज गिरी, हिरा अर्याल अधिकारी, अम्बिका खतिवडाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव विजय चौधरीले गरेका थिए ।