भरतपुर, १२ भदौ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भौतिक विकाससँगै साँस्कृतिक विकासलाई पनि अगाडि बढाउनुपर्ने बताएकी छन् । बुधबार भरतपुर–२५ स्थित बयरघारीमा रमाइलो साँस्कृतिक कला केन्द्रको उद्घाटन गर्दै उनले भौतिक विकासले मात्र मानिसलाई सन्तुष्टि नमिल्ने उल्लेख गरिन् ।
खुसी र सुखी महानगर निर्माणमा महानगर अघि बढेकाले भौतिकसँगै सामाजिक, आर्थिक र साँकृतिक क्षेत्रमा समान रुपमा अघि बढेको उनले बताइन् । महानगरमा भौतिक विकास उल्लेखीय रुपमा अघि बढिसकेकाले महानगरले अहिले आर्थिक, सामाजिक र साँस्कृतिक पक्षलाई विषेश प्राथमिकता दिएको उनको भनाई छ ।
कला केन्द्रको माध्यमबाट संस्कृतिको प्रवर्धन, जगेर्ना तथा जागरण ल्याउन सकिने भएकाले यस्ता कार्यहरुले संस्कृतिको संरक्षण हुने प्रमुख दाहाले बताइन् । ‘हिजोको दिनमा तीजका सन्दर्भमा दुःख र वेदनाको गीत गाउने परिपाटी थियो’ उनले भनिन्, ‘अहिले व्यवस्था फेरिएको छ । महिलाहरु अधिकार सम्पन्न भएका छन् । महिलाहरु देशको नेतृत्वदायी भूमिकामा छन् । त्यसैले उत्साहका गीत गाउनुहोस् ।’
प्रमुख दाहालले हिजोको समान्तवादी व्यवस्थामा महिलामाथि थिचोमिचो हुने, पुरुषले महिलालाई दमन गरेर घरयासी काममा मात्र लगाउने परिपाटी भएकाले त्यस्ता गीतहरु गाउने गरिएको स्मरण गरिन् । देशमा महिलाहरु राष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानन्यायाधीश, मन्त्री, मेयर, उपमेयर, वडाध्यक्ष भइसकेकाले उत्सहका गीत गाउँदै संस्कृतिको जगेर्ना गर्नुपर्नेमा उनले जोड दिइन् ।
वडा नम्बर २४ का अध्यक्ष रामबहादुर गोदारले भरतपुर २४ र २५ मा दलित र जनजातिको बाहुल्यता रहेकाले यहाँ धेरै प्रतिभाहरु रहेको बताए । कला केन्द्रले नयाँ प्रतिभा जन्माएर राष्ट्रिय कलाकार उत्पादनको केन्द्र बन्ने विश्वास उनले व्यक्त गरे ।
भरतपुर २५ को बयरघारीमा भएको कार्यक्रममा राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिएका थिए । कार्यक्रमलाई हेममाया फाउण्डेशनका अध्यक्ष हेम थापा र माया थापाले आर्थिक सहयोग गरेका थिए ।