गैंडाकोट, १२ भदौ ।
गैँडाकोट नगरपालिका वडा नम्बर ८ मा भर्मी कम्पोष्ट (गँड्यौला मल) प्रविधिबारेमा समुदायलाई जानकारी गराइएको छ । गैँडाकोट–१ मा रहेको गैँडाकोट इङ्ग्लिस स्कुलको आयोजना तथा गैँडाकोट नगरपालिका वडा नम्बर ८ कार्यालय एवम् सोही वडाको कालिका महिला सञ्जालले कार्यक्रमको संयोजन गरेका थिए ।
‘विद्यालय र समुदायको संयुक्त आह्वान
,दिगो विकास लक्ष्य प्राप्तिमा योगदान’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको अभिमुखीकरणमा सहभागीहरुलाई विद्यालयका प्रिन्सिपल हीरालाल अर्यालले उत्प्रेरणात्मक भनाइ राखेका थिए । अभिमुखीकरणमा सहभागीहरुलाई विद्यालयकी भर्मी कम्पोष्ट आउटरिच संयोजक अष्मिता श्रेष्ठ तथा विद्यालयका जनसम्पर्क तथा सूचना अधिकृत श्रीहरि चालिसेले सहजीकरण गरेका थिए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले सामाजिक कार्यहरु गर्नुपर्छ भन्ने मान्यता राख्दै विद्यालयले समुदायमा कार्यक्रम गर्दै आएको विद्यालयका सामाजिक सम्पर्क तथा सञ्चार अधिकृत श्रीहरि चालिसेले बताए । विश्वव्यापीरुपमा बढ्दै गइरहेको जलवायु परिवर्तन र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्नका लागि जैविक मल व्यवस्थापनमा विद्यालयले गँड्यौला मल निर्माण अभियान सुरु गरेको चालिसेले बताए ।
भान्छामा हरेक दिन प्रयोग हुने तरकारी तथा फलफूलमा विषादीको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दै गइरहेको छ । विषादीसहित अर्गानिक खाद्यान्नको प्रयोग बढाउन सकेमा स्वस्थ जीवन जीउन मद्दत पुग्ने आम उपभोक्ताको भनाइ छ । गैँडाकोट–८ मा रहेको कालिका महिला सञ्चालकी कार्यबाहक अध्यक्ष पार्वती ज्ञवाली सापकोटाले अन्य मलभन्दा गँड्यौला मल राम्रो र अर्गानिक हुने भएकाले यसबारेमा समुदायलाई प्रशिक्षण दिइएको बताइन् ।
गँड्यौला मलको बारेमा वडावासीलाई जानकारी गराउँदा उनीहरुको भान्सामा विषादीरहित खाद्यान्न पुग्न सहयोग गर्ने भएकाले यसबारे अभिमुखीकरण गरिएको वडा कार्यालयले जनाएको छ । गैँडाकोट–८ का वडाध्यक्ष प्रेम सापकोटाले वडाभित्रको फोहोर व्यवस्थापन गर्नका लागि उपायहरु खोजीरहेको अवस्थामा गैँडाकोट इङ्ग्लिस स्कुलले प्रस्तावना पेस गरेपछि आफूहरु सहकार्य गरेको बताए । वातावरण स्वच्छ राख्न, आफ्नो बारीमा प्रयोग गर्ने मल आफैले उत्पादन गर्न र पैसाको बचत गर्न तथा फोहोर व्यवस्थापनमा सहयोग पुग्ने भएकाले वडावासीलाई गँड्यौला मलबारे प्रशिक्षण दिएको बताए ।