गैंडाकोट, ११ भदौ ।
सफल महिला विकास मञ्च गैंडाकोटको पाँचौँ साधारणसभाले चित्रा सुनारीमगरको अध्यक्षतामा १३ जनाको कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
उपाध्यक्षमा देवी शाही, सचिवमा पूजाचन्द शाही, कोषाध्यक्षमा राममाया कँडेल, सहसचिवमा लक्ष्मी रावत र सदस्यहरूमा आशा विक, दिलकुमारी विक, गीता सापकोटा, निरु परियार, कोपिला सुवेदी, सिर्जना सापकोटा, मीना सापकोटा र भगवती सुवेदी चयन भएको निर्वाचन समिति संयोजक ईश्वरी चापगाईंले जानकारी दिए ।
२०७० सालमा स्थापना भएको सफल महिला विकास मञ्चले मङ्गलबार तीजको अवसरमा दर खाने कार्यक्रम सँगै पाँचौँ साधारणसभा सम्पन्न गरेको छ ।
कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर ७ का अध्यक्ष होमनाथ सापकोटा प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि सापकोटाले यस मञ्चले महिला तथा बालबालिकाको क्षेत्रमा विभिन्न कामहरू गर्दै समाजसेवामा समर्पित भएकोमा प्रशंसा गरे । आगामी दिनमा यस मञ्चले समाजमा भएका बेथितिलाई न्यूनीकरण गर्नमा पनि महत्वपूर्ण भूमिका खेलोस् भन्दै उनले शुभकामना दिए ।
उद्घाटन कार्यक्रममा नारायणी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी चापागाईं, सहयात्री साकोसका उपाध्यक्ष राजेन्द्र पौडेल, नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिननाथ त्रिपाठी, गैडाकोट नगरपालिका कार्यपालिकाका सदस्य ईश्वरी जिसी, गैंडाकोट नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सीता लामिछाने, समाजसेवी एवं शैक्षिक व्यक्तित्व नारायण पौडेल, महिला विकास केन्द्रका अध्यक्ष सरस्वती घिमिरेलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि तारा त्रिपाठी, धनबहादुर कुमाल, छलीमाया परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति गणेश सापकोटा, हरिहर मन्दिर परमानन्द सन्यास आश्रमका उपाध्यक्ष जमुना कँडेल, सफल महिला विकास मञ्चका संरक्षक धनपति सापकोटालगायतको उपस्थिति रहेको थियो ।
नेतृत्व चयनको कार्यक्रम सम्पन्न भएपछि दर खाने कार्यक्रम गरिएको थियो ।