भरतपुर, १० भदौ ।
सनराइज स्कुलको आयोजनामा तीनदिने मोडेल युनाइटेड नेसन्सको पहिलो संस्करण सोमबार समापन भएको छ ।
भदौ ८ गतेबाट विभिन्न १२ वटा विद्यालयका १२० प्रतिनिधिहरु सहभागी उक्त कार्यक्रममा चारवटा विभिन्न समितिहरु रहेका थिए । उक्त समितिहरूले विश्व परिवेशका समसामयिक मुद्दाहरुमा रहेर बहस तथा छलफल प्रस्तुत गरेका थिए ।
विद्यालयका उपप्राचार्य भूमिराज तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत ऋषिराम शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सनराइज स्कुल चितवन प्रा.लि.का अध्यक्ष हेमराज शर्मा रहेका थिए ।
प्रमुख अतिथि ऋषिराम शर्माले यस किसिमका कार्यक्रमले विद्यार्थीमा नेतृत्व तथा व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिँदै यस किसिमका कार्यक्रमहरू अन्य विद्यालयले पनि अनुसरण गर्न लायक हुने कुरामा जोड दिए ।
कार्यक्रममा समग्र प्रस्तुतिकरण र मूल्याङ्कनका आधारमा लिटिल फ्लावर स्कुलले उत्कृष्ट अवार्ड हात पार्न सफल भयो । विभिन्न समितिबाट सहभागी विद्यार्थीहरु मध्येबाट अभिषेक पराजुली, जेम्स फ्रान्सिस्को कँडेल, रक्षा केसी र अभिश्री कँडेलले उत्कृष्ट प्रतिनिधिको अवार्ड जित्न सफल भएका थिए ।
सनराइजका प्लस टु संयोजक जीवलाल चालिसेको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विवश पन्तले महासचिवको भूमिका निर्वाह गरेका थिए । उनले देवांशु गैरेलाई आगामी संस्करणका लागि महासचिवको जिम्मेवारी समेत हस्तान्तरण गरेका थिए ।