नेपालबाट कलाकारहरुको बाक्लो संख्यामा उपस्थिति गराइ विभिन्न सांगीतिक कार्यक्रमहरु गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले यसपटक फरक कार्यक्रमको आयोजना गरेको छ ।
जापानमा पहिलोपटक नेपाली गजलका प्रणयता मोतीराम भट्टको १५९औँ जन्मजयन्तीको अवसरमा नेपाली युवा पुस्ताका गजल हस्ती प्रदीप रोदनको साथमा गजल साँझ -२०२४ हुन लागेको हो ।
आगामी अगष्ट ३१ तारिकमा राजधानी टोकियोको ओकोबुस्थित आरएस आर्ट कोर्ट हलमा ३ बजेबाट, सेप्टम्बर ४ तारिकमा ओशाकास्थित जिग्री दोहोरी साँझ र सेप्टम्बर ८ तारिकमा नागोया फुसीमी मस्थित दैलो रेष्टुरेण्टमा साँझ ४ बजेबाट कार्यक्रम हुने अनेसास जापानका अध्यक्ष अरुण पौडेलले जानकारी दिए ।
`गजल भन्ने बितिकै प्रायः प्रणय भाव हुने भएकोले पनि गजल साँझ हामी नेपाली बिचमा आत्मीयताको साँझको रूपमा साहित्यिक मनहरुलाई जोड्न कोशेढुंगा साबित हुनेछ´, अनेसास जापानका निवर्तमान अध्यक्ष रविन शर्माले बताए ।
युवा पुस्तामाझ निकै लोकप्रिय गजलकार प्रदीप रोदनले समाजका विकृति विसंगतीदेखि राजनीतिसम्म, प्रेमप्रणयदेखि बिछोडका पीडाहरुलाई गजलमार्फत पोख्ने गर्छन् ।
जापानमा पहिलोपल्ट विभिन्न शहरहरुमा हुन गईरहेको यस कार्यक्रममा आफूलाई उपयुक्त हुने स्थानमा उपस्थित भई सफल बनाउन जापानबासी सम्पूर्ण साहित्यिक मनहरुमा अनेसास जापानले अपिल गरेको छ ।