भरतपुर, ९ भदौ ।
यसपालीको तीजलाई मौलिकताको संरक्षण गर्दै हिंसा प्रभावित महिला तथा बालबालिकाको न्यायका लागि आवाज बुलन्द पार्ने अभियानको रुपमा मनाउन आदर्श नारी विकास केन्द्रले आह्वान गरेको छ ।
पछिल्लो समय घरभित्रै छोरीहरु असुरक्षित हुँदै गइरहेको भन्दै संस्थाका संस्थापक एवं वरिष्ठ महिलाअधिकारकर्मी मीना खरेलले महिलाको संरक्षण, विकास, संगठन निर्माण गरि महिला तथा बालबालिका माथि भइरहेका शोषण दमन, अन्यायका बिरुद्ध आवाज उठाउन सबैलाई आह्वान गरिन् ।
आदर्श नारी विकास केन्द्र कालिका शाखाको पहिलो वार्षिक साधारणसभा तथा तीज बिशेष कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बजारमा निस्किएका तीजका गीतहरुमा मौलिकपन हराउँदै गएको उल्लेख गरिन् । आदर्श नारीले गरेको अध्ययनमा चितवन जिल्लामा मात्र १ वर्षमा १३ सय भन्दा बढीको सम्बन्ध विच्छेद भएको तथ्याङ्क प्रस्तुत गर्दै उनले पारिवारिक विमेल र विखन्डनको प्रत्यक्ष असर बालबालिकामा परेको बताइन् । समस्यामा परेकालाई सीप सिकाई स्वावलम्वी बनाउने अभियानमा आफू रहेको भन्दै उनले पीडामा परेकाको समस्या समाधान गरि सोही महिलालाई सक्षम बनाएर नेतृत्व हस्तान्तरण गरिने उल्लेख गरिन् ।
कार्यक्रममा प्रमुख अतिथि एवं कालिका नगरपालिकाका उपप्रमुख विमला तामाङले आदर्श जस्तो संस्थासँग समन्वय गरेर काम गर्न पाउँदा खुसी लागेको बताइन् । `हिंसा न्युनीकरणमा मीना दिदी र उनी कार्यरत संस्थाको साथ पाउनु पालिकाको लागि गर्वको कुरा हो´ उनले भनिन् । बा आमा छुट्टिएर बसेकाहरुका छोरा छोरी डिप्रेसनको शिकार बनिरहेको भन्दै उनले सीपमुलक तालिममा सहभागी भएकाले व्यवसाय सञ्चालन गर्न चाहे पालिकाले बिउ पुँजीको स्रोत जुटाइदिने बताइन् ।
अमेरिकामा श्रीमानद्वारा हत्या गरिएकी नेपाली चेली ममता काफ्लेको न्यायको लागि सबै महिला एक जुट हुनुपर्ने कार्यक्रमका सहभागिले बताएका थिए ।
संस्थाका शाखा अध्यक्ष मेनुका थापा अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष उषा खरेल सुवेदी, सचिव सरिता सुवेदी पाठक , सहसचिव सजना तिमल्सेना, शाखाका सल्लाहकार रमेश थापा, कालिका नगरका महिला विकास अधिकृत सम्झना ढकाललगायतले बोलेका थिए । शाखा सचिव सपना पुरीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष कमला शर्माले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
यसै बीच सोही अवसरमा कालिका नगर उपप्रमुख विमला तामाङलाई कालिका शाखाको प्रमुख सल्लाहकारमा नियुक्त गरेको छ ।