रत्ननगर, ९ भदौ ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको २२औं स्थापना दिवसको अवसरमा सोमबार आयोजना हुन लागेको राष्ट्रिय गोष्ठीमा सहभागी हुन देशभरका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रतिनिधिहरु सौराहामा आइपुगेका छन् । महासंघको स्थापना २०६० भदौ १० गते भएको थियो । यसको केन्द्रीय कार्यालय काठमाडौंको थापाथलीमा रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष राजेन्द्र अर्यालले देशभर ४५ हजार खानेपानी उपभोक्ता संस्था रहेको जानकारी दिए । उनका अनुसार सात प्रदेश र ३ सय स्थानीय तहमा समिति छन् । खानेपानी तथा सरसफाई क्षेत्रमा देखा परेका समस्या र तिनको समाधानका विषयमा छलफल गर्न आयोजित राष्ट्रिय गोष्ठीमा करिब ३ सय जना सहभागी हुने छन् । गोष्ठीमा ३ वटा प्रस्तुतिकरण रहने छन् । सौराहा घोषणापत्र जारी गर्दै सोमबार नै गोष्ठीको समापन हुनेछ ।
अध्यक्ष अर्यालले आयकर छुट र विद्युतमा सहुलियत माग गोष्ठीको प्रमुख विषयवस्तु रहने जानकारी दिए । उनले भने, ‘खानेपानीका मुहानहरू सुक्दैछन् । सडक बिस्तारले खानेपानीका पाइपलाइन ध्वस्त भइरहेका छन् । सडक बिस्तारका क्रममा ध्वस्त भएका पाइपलाइन सडक विभागले बनाइदिनु पर्छ ।’
‘पानी मानवअधिकार हो । यसको व्यवस्थापनका लागि सरकारसँग हातेमालो गर्न चाहन्छौं’ अर्यालले भने, ‘पानीकै कारण उपभोक्ता बिरामी परेको पुष्टि भएमा खानेपानी सेवा प्रदायकले क्षतिपूर्ति दिनु पर्छ । यो व्यवस्था खानेपानी ऐनमा प्रष्ट लेखिएको छ ।’
खानेपानी तथा सरसफाई उपभोक्ता संस्था रत्ननगरका अध्यक्ष माधव अर्यालले चितवनमा क्लोरिनेसन गरेर पानी वितरण गरिएको जानकारी दिँदै संस्थाहरुबाट वितरित पानी शुद्ध रहेको बताए । पानीको शुद्धता परीक्षणका लागि चितवनमा २७ वटा ल्याब रहेको उनले बताएका छन् ।
रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै जनताको लगानी भएको खानेपानी संस्थाहरुमा कर किन ? भनी प्रश्न गरे । उनले शुद्ध पिउने पानी प्राप्त गर्नु जनताको अधिकार भएको बताए ।