मकवानपुर, ९ भदौ ।
साहित्य संगम मकवानपुरले ३४६औं नियमित साहित्य सन्ध्या तुल्सी थापा विशेष गरेकाे छ । २०८० भदौ ८ गते थापाको निधन भएको वार्षिकीमा थापालाई संगमले सम्झिएकाे हाे ।
शनिबार आयोजित कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले तुल्सी थापाको व्यक्तित्व, शिक्षा क्षेत्र र चेपाङ समुदायमा पुर्याउनु भएको योगदानसँगै साहित्यिक जीवनको बारेमा जानकारी दिए । नाटक, कथा, कविता र अनुवादको क्षेत्रमा थापाले पुर्याउनु भएको योगदानकाे चर्चा गर्दै उनले भने ‘तुल्सी थापाले दाना कवितालाई नयाँ विधाको रुपमा स्थापित गरे ।’ थापाले अनुवादको क्षेत्रमा पुर्याएकाे योगदानको कमै चर्चा हुने गरेको उनले बताए । थोरै तर गुणात्मक र मौलिक लेखनबाट तुल्सी सर चिनिनु भएकाे उनले जानकारी दिए । ‘तुल्सी थापाका दाना कवितालाई विकास र विस्तार गर्न सके उहाँप्रति सच्चा सम्मान हुनेछ’ उनले भने ।
साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा साहित्यकार तुलसी घिमिरेको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा तुल्सी थापाकी बहिनी बेली थापाको पनि उपस्थिति रहेको थियो ।
नियमित सन्ध्याकै अवसरमा संगमले स्थापना गरेको अक्षयकोषमा पाँच हजार रुपैयाँ भन्दा बढी रकम सहयोग गर्ने २८ जनालाई सम्मान गरिएको थियो । संगमले स्थापना गरेको अक्षयकोषमा हालसम्म ६ लाख ५० हजार रुपैयाँ संकलन भएको अध्यक्ष बर्तौलाले जानकारी दिए । नियमित सन्ध्यामा रचना वाचन गर्नेहरुले तुल्सी थापाप्रति नै समर्पण गरेका थिए ।