चितवन, ८ भदौ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ का लागि लिएको संकल्प पूरा भएको बताएकी छन् ।
होटल व्यवसायी संघ चितवनको २८ औं साधारणसभालाई सम्बोधन गर्दै प्रमुख दाहाले भ्रमण वर्षको अवसरमा पर्यटन प्रवद्र्धन हुने महत्वपूर्ण काम गरेको उल्लेख गरिन् ।
भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रमार्फत पाटेबाघ हेर्ने सुविधा, भारतीय पर्यटकलाई सहज आवागमनका लागि ठोरी भन्सार सञ्चालन, दियालो बंगला दरबार सर्वसाधरणका लागि खुला गरिएको प्रमुख दाहालले बताइन् ।
भ्रमण वर्षमा थप पर्यटक ल्याउन कात्तिक महिनामा एकहप्ते धार्मिक महोत्सव गर्न लागिएको उनले बताइन् । यसको संयोजन देवघाट क्षेत्र विकास समिति र संरक्षकमा भरतपुर महानगर रहने उनको भनाई छ ।
भ्रमण वर्षको समापनमा खाना महोत्सव गर्ने क्यालेण्डर तय भएको प्रमुख दाहालले बताइन् । यस्ता गतिविधिले प्रत्यक्ष रुपमा यहाँका होटल व्यवसायीलाई टेवा पुग्ने उनले बताइन् ।
बजार क्षेत्रको पार्किङको समस्या समधान गर्न यहाँका स्थानीय र महानगरको समवन्यमा स्थानको खोजी गर्नुपर्ने उनले बताइन् ।
यसअघि महानगरले पार्किङ स्थलको व्यवस्थापन गरेको भए पनि सञ्चालनमा कठिनाई आएको स्मरण गरिन् ।
होटल व्यवसाय संघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले पर्यटन ऐन संशोधन नहँुदा नेपालका १० औं हजार होटेल ब्यवसायी मर्कामा परेको बताए । उनले चितवनका २०० बढी होटल पर्यटनमा दर्ता हुने क्रममा रहेको जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै होटल व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष इमान्दु बरालले बजारका होटलहरु २४ घण्टा खुला चल्ने व्यवस्था गरिदिन अनुरोध गरे । व्यवसायीलाई एकद्वार प्रणालीबाट कर तिर्ने वातावरण बनाइदिन उनले आग्रह गरे ।
कार्यक्रममा भरतपुर वडा नम्बर १ का अध्यक्ष केशव महर्जन, उद्योग वाणिज्य संघ चितवनका कार्यवाहक अध्यक्ष चिरञ्जीवी सुवेदी, घरबहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष जनकलाल कट्टेलले मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष लोकनाथ भट्टको अध्यक्षतामा सम्पन्न भएको हो ।