कावासोती, ८ भदौ ।
नवलपुर जिल्लामा दुर्लभ रक्त समूह भएकाहरु संगठित भएका छन् । दुर्लभ रक्त समूह भएकाहरु बिच एकापसमा भाइचाराको सम्बन्ध स्थापित गर्दै समन्वय र सहयोग गर्ने उदेश्यले संगठित भएको कार्यक्रमका संयोजक सोम सुवेदीले बताए ।
शनिबार कावासोतीमा आयोजित दुर्लभ रक्त समूह भएकाहरुको जिल्ला स्तरीय भेलाले ९ सदस्यीय जिल्ला कार्यसमिति समेत गठन गरिएको छ । समितिको अध्यक्षमा सोम सुवेदी , उपाध्यक्षमा सोनि श्रेष्ठ, सचिवमा रमेश बस्ताकोटी र कोषाध्यक्षमा नेनुका श्रेष्ठ चयन भएको नेपाल रेडक्रस सोसाईटी उपशाखा कावासोतीका सभापति बाबुराम कँडेलले जानकारी दिए ।
समितिका सदस्यहरुमा विक्रम कार्की, गोविन्द ढकाल , लोकेन्द्र वयम्बु , रामचन्द्र सापकोटा र स्मृति भुसाल न्यौपाने चयन भएका छन् । समितिमा सहसचिव, सहकोषाध्यक्षसहित २ सदस्य जिल्ला कार्यसमितिको बैठकले चयन गर्ने कँडेलले बताए ।
जिल्ला स्तरीय भेलाको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरका अध्यक्ष डिल्लिराम कडरियाले दुर्लभ रक्त समूह भएकाहरु संगठित हुनु आफैमा निकै महत्वपूर्ण काम भएको बताए । उनले भने- `संगठित भएर अघि बढ्दा भोलिका दिनमा रगत अभावमा छटपटिनु पर्ने अवस्था आउँदैन, यो मानविय कार्य हो ।´ कडरियाले दुर्लभ रक्त समूह भएकाहरु निकै कम संख्यामा हुने भन्दै संगठित भएर अघि बढ्दा धेरै सहज हुने बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीका सभापति बाबुराम कँडेल, नेपाल स्वयम्सेवी रक्तदाता समूहका जिल्ला अध्यक्ष धर्मराज लुईंटेल, नेपाल दुर्लभ रक्त समुदाय चितवनका अध्यक्ष लक्ष्मण ज्ञवालीलगायतले शुभकामना व्यक्त गरे । कार्यक्रममा नवलपुर जिल्लाका दुर्लभ रक्त समूह भएका व्यक्तिहरु, रेडक्रसकर्मी, स्वयम्सेवी रक्तदाता, संचारकर्मीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नवनिर्वाचित सचिव रमेश बस्ताकोटीले गरेका थिए ।