भरतपुर, ८ भदौ ।
भरतपुरमा शनिबार साँझ युवा गजलकार रामकृष्ण अनायासको `गजल साँझ´ आयोजना गरियो । चौबीसकोठी नजिकै होटल शुभम एण्ड हस्पिटालिटीमा अक्षर समूह चितवनले आयोजना गरेको कार्यक्रममा गजलकार अनायासले १२ वटा गजल प्रस्तुत गरे ।
गजल सुन्न युवापुस्तादेखि पाका स्रस्टासम्मको उपस्थिति थियो । खचाखच माहोललाई सम्बोधन गर्दै गजलकार अनायासले छोरीको नाममा लेखिएको गजल सुनाए ।
छोरी नभएको त्यो महल घर लाग्दैन
सरकार नागरिकतामा किन आमाको थर लाग्दैन
परीक्षा आयो पुस्तक कहिल्यै आएन कर्णालीमा
पर्चा आयो झण्डा बोकेर भोट माग्नेको भर लाग्दैन ।।
पुस्तक चर्चा एवम् विभिन्न स्रस्टाका जयन्ती तथा दिवस मनाउँदै आएको अक्षर समूहले मोती जयन्तीको अवसर पारेर गजलवाचनको कार्यक्रम राखेको हो । अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातका अनुसार नेपाली गजलमा मोतीराम भट्टको योगदानको सम्मान गर्दै गजल बिधाको कार्यक्रम गरिएको हो । अक्षर समूह चितवनका पूर्व अध्यक्ष भूपिनले संस्थाबाट यसअघि पनि गजलको कार्यक्रम गर्ने क्रममा गजलकार प्रभाकर पण्डितको गजलसङ्ग्रहको अन्तर्क्रिया एवम् गजलवाचन राखिएको बताए । पण्डित अक्षर समूहका पूर्व अध्यक्ष हुन् ।
गजलकार रामकृष्ण अनायासले परिवार, समाज, सरकार र प्रेमका विषयमा लेखिएका गजल प्रस्तुत गरे । विशिष्ट व्यक्तिको सवारीमा सर्वसाधारणले सास्ती खेप्ने अवस्थालाई उनलेे कटाक्ष गरेका छन् :
आज घरमै बस, बाटोमा सरकारको सवारी छ
भन्देउ न पुलिस दाइ कतिलाई समात्ने तयारी छ ।।
बाले मृगौला बेचेर आमाको उपचार गर्दैछन्
यता सेवा बन्द भन्दै अस्पतालको सूचना जारी छ ।।
गजलकार अनायासले गजलमार्फत सुशासनको अपेक्षा राखे । नागरिकलाई अनाहकमा दु:ख दिने सरकारलाई खबरदारी गरे । उनलेे गजलमा भनेका छन् :
एक्लै निस्किएको छु मसाल बोकेर गाउँबाट
ए काठमाडौं, म जतिबेला पनि आउन सक्छु ।
मेरा गजललाई त्यति कमजोर नठान महासय
म गजल लेखेरै यो सरकार गिराउन सक्छु ।।
गजलकार अनायास गजल मञ्च चितवनका उपाध्यक्ष हुन् । अनलाइन पेजमार्फत गजल गतिविधिमा अनायासको योगदान प्रसंशनीय छ । गजलकार अनायासका बारेमा अक्षर समूहका सचिव लेखराम सापकोटाले चर्चा गरेका थिए ।